पूर्व उर्जामन्त्री पुनद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    पूर्व उर्जामन्त्री पुनद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण

    खबरपुञ्ज संवाददाता

    २३ माघ २०७७, शनिबार

    तनहुँ : पूर्व उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको शनिबार निरीक्षण गर्नुभएको छ । पार्टीको कार्यक्रममा सहभागी हुन दमौली आउनुभएका पुनले आयोजनाको निरीक्षण गर्दै हालसम्मको प्रगतिबारे चासो व्यक्त गर्नुभएको हो ।

    आफ्नो कार्यकालमा तनहुँ जलविद्युत आयोजनालाई प्राथमिकता दिएको बताउँदै पूर्वमन्त्री पुनले तोकिएकै समयमा आयोजनाको काम सम्पन्न गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

    सो अवसरमा आयोजना प्रमुख अच्युत घिमिरेले पूर्वमन्त्री पुनलाई आयोजनाको हालसम्मको प्रगतिबारे जानकारी गराउनुभएको थियो । आयोजनाको प्याकेज दुई अन्तर्गत सिनो हाइड्रो कम्पनीले यतिबेला काम गरिरहेको छ । सिनो हाइड्रोले विद्युतगृह, मुख्य प्रवेश सुरुङ, सर्ज ट्याङ्क जाने सुरुङ, बाँधस्थल जाने सुरुङ खन्ने कार्य जारी राखेको छ ।

    प्याकेज दुई अन्तर्गत सिनोले क्याम्पहरु, ब्याचिङ तथा क्रसिङ प्लाण्ट, ल्याव, क्लिनिक, स्टोर, उपकरणकक्ष आदि पूर्वाधारको स्थापना, केबल सुरुङ, विद्युतगृहको पाइलट सुरुङ, पहुँच सडक खन्ने कार्य सम्पन्न भएको छ ।

    प्याकेज तीन अन्तर्गत प्रशारण लाइन निर्माणका लागि केइसी इन्टरनेशनले काम गरिरहेको छ । आयोजनाको प्याकेज दुई अन्तर्गत करिब रु एक अर्ब खर्च भएको छ । त्यस्तै प्याकेज तीन अन्तर्गत प्रशारण लाइन निर्माणका लागि रु तीन करोड खर्च भएको छ ।

    आयोजनाले प्रशारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले त्यसको प्रकृयालाई समेत अगाडी बढाइसकेको छ । टावर राख्नका लागि ५३ जना व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्ने भएको छ ।

    प्रशारण लाइन निर्माणका लागि तनहुँ र चितवनतर्फका वन क्षेत्रमा पर्ने रुखहरु कटान हुनेछन् । तनहँुतर्फ ३० हेक्टर वन क्षेत्रको रुख कटान गर्नुपर्ने र त्यसका लागि फाइल वन विभागमा पठाइएको छ । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । चालु आर्थिक वर्षमा प्रशारण लाइनका लागि ३० वटा टावर निर्माण गरिनेछ ।

    आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार १ सय ६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगृत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट उर्जा उत्पादन गर्नेछ ।

    आयोजनाको कुल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाईन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।