काठमाडौं : गृहमन्त्रालयले पूर्व मन्त्रीहरु निजी सुरक्षामा खटिएका सबै सुरक्षाकर्मीलाई फिर्ता ल्याउन प्रहरी प्रधानकार्यालयलाई निर्देशन दिएको छ। सरकारले निर्वाचन घोषणा गरिसकेको र गृहमन्त्रालयको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि विपरित सुरक्षाकर्मी खटाएको भन्दै प्रहरी प्रधानकार्यालयलाई सो निर्देशन दिएको हो।
गृह मन्त्रालयले २०७० सालमा तयार पारेको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिले तय गरेको मापदण्डअनुसार पूर्वराष्ट्रपतिबाहेक अन्य कसैलाई पनि आजीवन सुरक्षाकर्मी दिन प्रावधान नभए पनि दर्जनौं व्यक्तिले त्यसको दुरुपयोग गरिरहेका थिए।
पछिल्लो समय पूर्व गृहमन्त्री र पूर्व प्रधानमन्त्रीहरुलाई आजीवन सुरक्षाकर्मी दिने कार्यविधि बनेको छ। विशिष्ठ व्यक्ति सुरक्षा कार्यविधि २०७५ले दिएको मापदण्ड अनुसार सुरक्षाकर्मीहरु खटाइएकाले उनीहरुलाई फिर्ता बोलाइएको गृहमन्त्रालयले जनाएको छ।
कार्यविधिअनुसर पूर्वराष्ट्रपतिले अगुवा पछुवाको गाडीसहित आजीवन सुरक्षाकर्मी पाउने व्यवस्था गरिएको छ। त्यसैगरी पूर्व उपराष्ट्रपतिलाई ५ वर्षसम्म अगुवा पछुवा र सुरक्षाकर्मीसहितको सुरक्षा दिने प्रावधान रहेको छ।