तनहुँ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय शासन प्रणालीले विकासको गति बढाएको बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–५ स्थित पुरनडिही स्वास्थ्य केन्द्रमा निर्माण हुन लागेको नगरस्तरीय अस्पतालको साेमबार शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले पहिलो पटक लागू भएको सङ्घीय शासन प्रणालीले प्रत्येक स्थानीय तहमा विकासको गति बढेको उल्लेख गर्नुभयो ।
तीन तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले त्यसो भएको खण्डमा मात्रै विकास दिगो हुने बताउनुभयो । सङ्घ सरकारले हस्तान्तरणका गरेका सडक र पुलका योजनालाई प्रदेश सरकारले महत्वका साथ अगाडी बढाएको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले काम गर्नका लागि भिजन आवश्यक रहेको बताउनुभयो । चालु आर्थिक वर्षभित्र आधारभूत खानेपानीको व्यवस्था गरिने बताउँदै मुख्यमन्त्री गुरुङले एक घर ः एक धारा अभियानलाई पनि प्राथमिकताका साथ अगाडी बढाइएको बताउनुभयो ।
गण्डकी प्रदेशमा कर्मचारीको अभावका कारण सोचेजति काम गर्न नसकिएको गुनासो गर्नुभयो । काठमाडौमा कर्मचारी थुप्रिने तथा प्रदेशमा कर्मचारी नआउने समस्या रहेको बताउँदै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “सङ्घीयताको ढाँचामा काम गर्न कर्मचारीलाई प्रशिक्षित नगरिएकाले समस्या आएको हो ।”
मुख्यमन्त्री गुरुङले सरकारले गरिरहेका कामको निगरानी जनताले गर्नुपर्ने र सरकारको निगरानी गर्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष रहेको चर्चा गर्नुभयो । मुख्यमन्त्री गुरुङले मुलुकले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई पाउनु जनताको लागि भाग्यको कुरा भएको बताउँदै भन्नुभयो, “केपी ओली नेतृत्वमा धेरै कामहरु भएका छन् ।”
जनतामा जाने कुरा अलोकतान्त्रिक होइन
मुख्यमन्त्री गुरुङले जनतामा जाने कुरा अलोकतान्त्रिक नभएको दावी गर्नुभयो । लोकतन्त्रमा जनता न्यायधीश भएकाले जनतामा जान डराउन नहुने मुख्यमन्त्री गुरुङले बताउनुभयो । “लोकतन्त्रमा जनता न्यायधीश हुन्, लोकतान्त्रिक सरकारले गरेको निर्णय कसरी असंवैधानिक हुन्छ,” उहाँले प्रश्न गर्नुभयो, “जनता भनेको हाम्रो भगवान हो, जनतालाई सधैँ शिरोपार्य गर्नुपर्छ ।” मुख्यमन्त्री गुरुङले चुनावको विरोध गर्नेहरु चुनावमा जान डराएको टिप्पणी गर्नुभयो ।
मुख्यमन्त्री गुरुङले प्रधानमन्त्री र अध्यक्ष पदको सौदाबाजी गरेर केपी शर्मा ओलीलाई काम गर्न नदिइएको बताउनुभयो । “अध्यक्षमा पराजित भएको व्यक्तिलाई तत्कालै अध्यक्ष चाहियो रे,” उहाँले भन्नुभयो ।
विघटित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले विकास निर्माणमा राजनीति नगर्न आग्रह गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा जिल्लामा धेरै विकास निर्माणका योजना शुरु भएको र त्यसलाई सम्पन्न गराउन सदैव लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।
भानु नगरपालिकाका प्रमुख उदयराज गौलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङ, डोवाटे विक, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी सागर आचार्य लगायतले निर्धारित समयभित्रै अस्पताल निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
यस अगाडी जिल्लाका पाँच स्थानीय तहमा मङ्सिर १५ गते एकैसाथ अस्पताल शिलान्यास गरिएको थियो । तर भानुमा प्रमुख अतिथिमा विवाद भएपछि शिलान्यासको कार्यक्रम स्थगित भएको थियो । नगरस्तरीय अस्पताल निर्माणका लागि सङ्घीय सरकारले रु १८ करोड ६ लाख ८२ हजार विनियोजन गरेको छ । १५ शैय्याको अस्पतालमा तीन जना मेडिकल अधिकृत र २७ स्वास्थ्यकर्मी खटिनेछन् ।
यसअघि भीमाद, शुक्लागण्डकी नगरपालिकामा १५÷१५ र म्याग्दे, देवघाट र ऋषिङमा १०÷१० शैय्याको अस्पताल शिलान्यास गरिसकिएको छ । १५ शैय्याको अस्पताल निर्माणका लागि रु १८ करोड ६ लाख ८२ हजार १० शैय्याको अस्पताल निर्माणका लागि रु दश करोड ८३ लाख ३६ हजार बजेट विनियोजन गरिएको छ । दश शैय्याको अस्पतालमा दुईजना मेडिकल अधिकृत सहित १७ जना स्वास्थ्यकर्मी खटाउने सरकारको तयारी छ ।