काठमाडौं : सरकारले भिजिट भिसामा महिलाहरू एक्लै विदेश जाने अवस्थामा परिवारको सहमति र वडा कार्यालयको सिफारिस अनिवार्य चाहिने नियम लागू गर्न लागेको छ । भिजिट भिसामा हुने मानव तस्करी रोक्न भन्दै सरकारले यस्तो नियम लागु गर्न लागेको हो । अध्यागमन विभागले यस्तो प्रावधानसहितको भिजिट भिसासम्बन्धी नयाँ कार्यविधि गृह मन्त्रालयमा स्वीकृतका लागि पठाएको छ ।
भिजिट भिसामा खाडीलगायत देश गएका महिलाहरू बेचिने भएकाले अध्यागमनले उनीहरूको हकमा कडाइ गर्दै आएको छ । कडाइ गर्दा स्वतन्त्रतापूर्वक आवतजावत गर्ने अधिकार भने हनन भएको आरोप लाग्दै आएको छ । तर, श्रीमान् तथा परिवारका अन्य सदस्यसँग भिजिट भिसामा जानेहरूको हकमा भने यस्तो सिफारिस आवश्यक नहुने कार्यविधिमा उल्लेख छ ।