तनहुँ: तनहुँको खैरेनीटारस्थित श्री नं ३ बाहिनी अड्डामा भूतपूर्व सैनिक सम्मेलन बुधबार सम्पन्न भएको छ । ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार : आत्मसम्मान तथा समृद्धिको आधार’ भन्ने नाराका साथ श्री नं ३ बाहिनी अड्डामा सहायक शिविर सम्पन्न भएको हो ।
भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनको सहभागितामा आयोजित सम्मेलनमा बाहिनीपति सहायकरथी कुमारबाबु थापाले भूतपूर्व सैनिक तथा बहालवाला सैनिकबीच सामिप्यता बढाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । भूपू सैनिक तथा हिताधिकारीको पिरमर्का व्यवस्थापनको माध्यमका रुपमा सम्मेलन प्रभावकारी रहेको उल्लेख गर्दै उहाँले भूतपूर्व सैनिकको सेवा निवृत्त जीवन स्वदेशमा नै उच्च आत्मसममानका साथ रहोस् भन्ने आफूहरुको चाहना भएको धारणा व्यक्त गर्नुभयो ।
पश्चिम पृतना हेडक्वाटर विजयपुर पोखरा अन्तर्गत ९ जिल्लामा बुधबार सहायक शिविर सम्पन्न भएका छन् । तनहुँको खैरेनीटारस्थित श्री नं ३ बाहिनी अड्डा, व्यास नगरपालिकास्थित कालीभञ्जन गण (इ) र भानु नगरपालिकास्थित जगदल गणमा भूपू सैनिक सम्मेलन भएको छ । प्रत्येक सहायक शिविरमा एक सय जना भूपू सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनको सहभागिता थियो ।
शिविरका अवसरमा फरक क्षमता भएका तथा अशक्तलाई ह्विलचियर, वैशाखी र आर्थिक सहयोग तथा लघुवित्त कार्यक्रम अन्तर्गत महिला उद्यमशील कर्जा प्राप्त गर्ने ऋणीलाई चेक हस्तान्तरण गरिएको थियो ।
यसैबीच पश्चिम पृतना हेडक्वाटर विजयपुरमा आयोजित मुख्य शिविरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले ज्येष्ठ भूतपूर्व सैनिक ९६ वर्षीय बागलुङ जिल्ला निवासी सिपाही मनिराज थापा र तत्कालीन श्री भैरवप्रसाद गुल्मबाट अवकाशप्राप्त सुवेदार हर्कबहादुर थापा मगरको श्रीमती ९९ वर्षीया नरकुमारी थापामगरलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा सर्वाेत्कृष्ट लघु व्यवसायी बन्न सफल तनहुँ जिल्लाका पूर्वजमदार बोधराज शर्माकी श्रीमती स्मृति शर्मा वाग्ले र गोरखा जिल्लाका पूर्वप्रबन्धक चन्द्रसिंह बस्नेतलाई सम्मान गरिएको थियो । त्यस्तै चार वा सोभन्दा बढी सन्ततिलाई सेनामा सेवा गर्न अभिप्रेरित गर्ने १३ जना आमाबुबालाई सम्मान गरिएको थियो ।