तनहुँ : नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारवाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ । भानु नगरपालिका-१० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारवाही फिर्ता लिन जिल्ला समितिलाई बुझाएको पत्र केन्द्रलाई पठाउने निर्णय भएको जिल्ला कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिनुभयो ।
गत प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको भन्दै केन्द्रीय अनुशासन समितिले जोशीलाई पॉच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको थियो । जोशीको उम्मेदवारी पौडेलको दावी विरोधपछि निर्वाचन आयोगले रद्ध गरेको थियो । उम्मेदवार बन्न नपाएका जोशीले नेकपाका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई सघाएको आरोप लागेको थियो ।
“जोशीमाथि केन्द्रले गरेको कारवाही फिर्ता लिन जिल्ला समितिमा निवेदन आएको छ, केन्द्रले कारवाही गरेकाले उक्त निवेदन केन्द्रमा नै पठाइदिन लागेका हौ,” आलेले भन्नुभयो ।