रोटरी दमौलीद्धारा विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रोटरी दमौलीद्धारा विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण

    खबरपुञ्ज संवाददाता

    २७ माघ २०७७, बुधबार

    तनहुँ : रोटरी क्लब दमौलीले लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–२ टक्सार स्थित चन्द्रज्योति प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र विद्यालय पोशाक सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत ३४ जना विद्यार्थीलाई ट्रयाक–सुट, जुत्ता, मोजा (स्टकिङ्ग) लगायतका विद्यालय पोशाक, शैक्षिक सामग्री र खेलकुद सामग्री वितरण गरिएको रोटरी क्लब दमौलीका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिनुभयाे ।

    विद्यार्थीहरुका लागि जुत्ता र स्टकिङ्ग समाजसेवी तथा व्यापारी सुकनारायण मल्लले सौजन्य उपलब्ध गराउनुभएकाे हाे भने अन्य सहयोग सामग्री क्लबकै तर्फबाट व्यवस्थापन गरिएको अध्यक्ष भण्डारीले बताउनुभयाे । कार्यक्रमका प्रमुख अतिथि मध्यनेपाल–२ का वडाध्यक्ष पदमबहादुर थापाले सहयोगप्रति आभार व्यक्त गर्दै स्थानीय सरकारले गनुपर्ने काम क्लबले गरेको बताउनुभयाे ।

    कार्यक्रममा रोटरी क्लबका अध्यक्ष दामोदर भण्डारीले नेपाल सरकारले सन् २०३० सम्म नेपाललाई पूर्ण साक्षरता बनाउने लक्ष्य लिएकामा सरकारको यस अभियानलाई सघाउन रोटरीले विगतदेखि नै विद्यालय र विद्यार्थीलाई सहयोग गर्दै आएको बताउनुभयाे ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रोटरीका निवर्तमान अध्यक्ष सुरजकुमार मल्ल, पूर्व अध्यक्ष रजिनलाल श्रेष्ठ, डिल्लीराम सुनार, भावी अध्यक्ष दिनेशकुमार श्रेष्ठ, दलित महिला वडा सदस्य आशा बयलकोटी, मंगला माविका प्रअ विष्णुहरि बास्तोला लगायतले सहयोगको सदुपयोग हुनुपर्नेमा जोड दिनुभयाे ।