तनहुँ : भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीहरुको तथ्याङ्क सङ्कलनका लागि गणक घरदैलोमा पुगेका छन् । तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा गणकहरुलाई भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनलाई परिचालन गरिएको हो ।
भूमि सम्बन्धी समस्या समाधान आयोगले गत माघ ९ गते सार्वजनिक सूचना प्रकाशन गरि विवरण उपलब्ध गराउन सर्वसाधारणलाई अनुरोध गरिसकेको छ । सोही बमोजिम सम्बन्धित स्थानीय तहले नियुक्त गरेका गणकहरु उक्त तथ्याङ्क सङ्कलनका लागि परिचालित भएका छन् ।
शुक्लागण्डकी नगरपालिकाले २९ जना लागत सङ्कलकलाई तालिम दिएर १२ वडामा परिचालन गरेकाे प्रमुख प्रशासकीय अधिकृत गङ्गाराम सुवेदीले जानकारी दिनुभयाे ।
देवघाट गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङले वास्तविक भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनका लागि गणकहरुलाई घरदैलोमा खटाइएको जानकारी दिनुभयो ।
व्यास नगरपालिकाले पनि प्रत्येक वडामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनका लागि गणक परिचालन गरिसकेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । व्यास नगरपालिकाका तथ्याङ्क इकाई प्रमुख विमल गिरीका अनुसार नगरपालिकाका १४ वटै वडामा तथ्याङ्क सङ्कलक खटाइएको छ । उनीहरुले वडा कार्यालयबाट भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गर्नेछन् । उहाँका अनुसार भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यस्थित बसोबासीले आफूले बसोबास गरेको वा आवाद कमोत गरेको जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरी लागत सङ्कलक वा सम्बन्धित वडा कार्यालयमा फारम बुझाउनुपर्नेछ ।
पहिलो चरणमा कार्यसम्पादन भएका स्थानीय तहमा ३५ दिनभित्रमा सबै सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोबासीको प्रारम्भिक विवरण सङ्कलन गरिने आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले जानकारी दिनुभयो । अहिले जिल्लामा पनि आयोगका पदाधिकारी नियुक्त भइसकेकाले जिल्लास्थित आयोगसँग समन्वय गरेर विवरण सङ्कलन र पुष्टिको काम गरिने रानाले बताउनुभयो ।