घिरिङ गाउँपालिका पूर्ण रुपमा उज्ज्यालो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    घिरिङ गाउँपालिका पूर्ण रुपमा उज्ज्यालो

    खबरपुञ्ज संवाददाता

    २९ माघ २०७७, शुक्रबार

    तनहुँ : तनहुँकाे घिरिङ गाउँपालिका उज्ज्यालो गाउँपालिका बनेको छ । सबै घरधुरीमा विद्युत सुविधा पुगेपछि घिरिङ गाउँपालिका उज्ज्यालो गाउँपालिका बनेको हो ।

    घिरिङ गाउँपालिका–१ को बन्टार, जगौलीटार र खुम्लिङटारमा बिहीबार बत्ती बलेसँगै गाउँपालिका अँध्यारोमुक्त भएको छ । उक्त गाउँका एक सय ६ घरधुरीमा बिहीबार बत्ती बलेको छ । घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले लामो समयको प्रयासपछि सबै घरधुरीमा बत्ती बाल्न सकिएको जानकारी दिनुभयो । “बत्ती नपुगेका घरहरुमा बत्ती पुर्याउन निरन्तर काम गर्यौ, कोभिडको महामारीका बीचमा पनि कतिपय गाउँहरुमा बत्ती बाल्न सफल भयौ,” थापाले भन्नुभयो, “हालसम्म अँध्यारोमा बस्दै आएका स्थानीयवासीको मुहारमा खुशी ल्याउन सफल भएका छौ ।”

    गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि गाउँपालिकाले विभिन्न वडामा विद्युत सेवा विस्तारलाई तीव्रता दिएको थियो । सोही अभियान अन्तर्गत गत साता मात्र घिरिङ गाउँपालिका–४ को गड्यौलीटार र नयाँटारको दुई सय २० घरधुरीमा बत्ती बलेको थियो ।

    घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले ‘उज्ज्यालो घिरिङ’ अभियान सम्पन्न भएको बताउनुभयो । जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएपछि करीब एक हजार पाँच सय भन्दा बढी घरमा विद्युत सेवा विस्तार भएको उहाँले जानकारी दिनुभयो । “गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सबै घरधुरीमा बत्ती पुर्याउने प्रतिबद्धता पूरा भएको छ,” उहाँले भन्नुभयो, “विद्युतीकरण अभियानमा तनहुँ जलविद्युत आयोजना, नेपाल विद्युत प्राधिकरणले पनि सहयोग पु¥यायो ।”

    अध्यक्ष रानाका अनुसार गाउँपालिकामा जनप्रतिनिधि आउनु अगाडी दश प्रतिशत घरधुरीमा मात्रै विद्युत सेवा पुगेको थियो । “हालसम्म टुकी, मैनबत्तीको भरमा बस्दै आएका स्थानीयवासीलाई अँध्यारोबाट मुक्त पार्छौ भनेर प्रतिबद्धता जनाएका थियौ, उक्त प्रतिबद्धता पूरा गर्न सफल भएका छौ,” उहाँले भन्नुभयो ।

    वर्षौदेखि टुकी र मैनबत्तीको भरमा बस्दै आएका घिरिङका स्थानीयवासी बत्ती बलेसँगै खुशी भएका छन् । गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले धेरै वर्षको प्रतिक्षापछि गाउँमा बत्ती बाल्न पाउँदा स्थानीयमा खुशीकाे सीमा नै नरहेकाे बताउनुभयाे । “बत्ती कहिले बल्ला भनेर लामो समय कुरेका स्थानीयवासीमा अहिले उल्लास छ,” उहाँले भन्नुभयाे ।