तनहुँ : तनहुँको व्यास नगरपालिकाको आयोजना तथा निर्मल माध्यमिक विद्यालयको व्यवस्थापनमा शुक्रबारदेखि तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु भएको छ । कोभिडको परिस्थिति सहज बन्दै गएपछि व्यास नगरपालिकाले प्रतियोगिता आयोजना गरेको हो ।
गत वर्ष पुसको दोस्रो साता सञ्चालन भएको प्रतियोगिता यस वर्ष माघको अन्तिम दिनबाट शुरु भएको छ । “कोरोना कारण यसबीचमा थुप्रै खेलकुदका गतिविधि ठप्प भए, कोरोना सामान्य बन्दै गएकाले विद्यालयस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु गरेका छौ,” व्यास नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीले भन्नुभयो ।
नगरक्षेत्रभित्र रहेका विद्यालयका विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्य सहित आयोजित प्रतियोगितामा ३८ विद्यालयका विद्यार्थी सहभागी छन् । व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा दौड, सटफुट, ट्रिपल जम्प, हाईजम्प, लङ जम्प, ज्याभलिङ थ्रो, भलिबल, कबड््डी, कँराते लगायतका खेलमा विद्यार्थीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका सदस्य सचिव एवं निर्मल माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले कोभिडपश्चात् जनजीवन सामान्य बन्दै गइरहेकाले नगरपालिकाभित्र खेलकुदका गतिविधि सञ्चालन हुन थालेको बताउनुभयो । “एक वर्ष अत्यन्त विषम् परिस्थितिबाट विश्व नै गुज्रियो, कोभिडको कारणले विद्यालय समयमा चल्न सकेनन्,” न्यौपानेले भन्नुभयो, “अहिले परिस्थिति सुध्रिएकाले खेलकुदका गतिविधिलाई पनि अगाडी बढाएका हौ ।”
रनिङशिल्ड प्रतियोगिता सञ्चालन गर्न सङ्घीय सरकारको तर्फबाट रु एक लाख बजेट विनियोजन भएको र बाँकी अन्य सबै खर्चको व्यवस्थापन नगरपालिकाले गर्ने न्यौपानेले जानकारी दिनुभयो ।