तनहुँ : तनहुँको व्यास नगरपालिका–१४ मा महिलाहरुद्वारा सञ्चालित साथी बचत तथा ऋण सहकारी संस्थाको ११ औ साधारण सभा तथा छैटौ अधिवेशन सम्पन्न भएको छ । साधारणसभामा वडाध्यक्ष काजीमान श्रेष्ठले सहकारीले सहकारीको सिद्धान्त र मूल्य मान्यता पालना गर्नुपर्ने बताउनुभयो । सहकारीले महिला उद्यमी, कृषिको क्षेत्रमा शेयर सदस्यहरुको क्षमता वृद्धि र आथिक वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको भन्दै वडाध्यक्ष श्रेष्ठले प्रशंसा गर्नुभयो ।
व्यास नगर कार्यपालिकाका सदस्य नरिमाया रानाले विगत २०६६ सालदेखि सञ्चालित सहकारीले व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका महिलाहरुलाई संगठित गरेर आत्मनिर्भर बन्न सहयोग गरेकामा खुशी व्यक्त गर्नुभयो । चार सय पाँच महिला सदस्य रहेर यो सहकारीले अव्वल सावित गरेको उहाँले बताउनुभयो ।
चार सय पाँच महिला सदस्य रहेको सहकारीमा बचत रकम रु ९३ लाख २४ हजार एक सय ९७ रहेको छ भने कूल लगानी रु एक करोड २० लाख २६ हजार पाँच सय रहेको सहकारीकी कोषाध्यक्ष सीता तिवारीले जानकारी दिनुभयो ।
अधिवेशनबाट सहकारीको अध्यक्षमा पुनः नन्द कुमारी थापा निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा सुनिता भटराई, सचिवमा शर्मिला भटराई, कोषाध्यक्षमा सीता तिवारी, सदस्यहरुमा जमुना भटराई, जुना थापा, नेत्र माया थापा, चरिमाया थापा, विष्णुमाया थापा, सुनिता थापालाई सर्वसम्मत रुपमा चयन हुुनुभएको छ ।