दुलेगौँडा : शनिबार २६ औँ जनयुद्ध दिवस । देश परिवर्तनका निम्ति जनयुद्धमा होमिएको स्मरण गर्दै देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । यहाँको शुक्लागण्डकी नगरपालिकामा पनि एक कार्यक्रमको आयोजना गरी जनयुद्धको स्मरण गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा शुक्लागण्डकी नगर कमिटी (प्रचण्ड–माधव) समूहले शुक्लागण्डकी–२ हलेदीस्थित शहिद स्मृतिपार्कमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाईएको हो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य तथा नेपका केन्द्रीय सदस्य आशा कोइरालाले संघीय लोकतन्त्र गणतन्त्रको रक्षा भएमा मात्र जनयुद्धको सम्मान हुने बताउनुभयो ।
जनयुद्धले दुरदराजका शोषित पीडित व्यक्तिलाई चेतनशीव बनाएको उहॉको भनाई छ । उहॉले भन्नुभयो, ‘जस्ले गर्दा आफ्नो अधिकार माग्न सक्ने बनाएको छ । जनताको राज्यको हरेक तहमा प्रतिनिधित्व गर्न सक्ने भएका छन् ।’ पूर्वमन्त्री समेत रहनुभएकी कोईरालाले उपलब्धीलाई रक्षा गर्दै नेपाली जनतालाई परिवर्तनको अनुभव गराउने गरी लाग्न नेता कार्यकर्तालाई अनुराेध गर्नुभयाे । अहिले प्राप्त संविधान र व्यवस्थाको मुख्य आधार जनयुद्ध भएको उहाँको दाबी थियो । केपी ओलीले प्रतिनिधि सभा विघटन गरेर ऐतिहासिक जनयुद्धको खिलाफ कदम चालेको आरोप लगाउनुभयाे ।
नेकपा जिल्ला कमिटी सदस्य विरेन्द्र श्रेष्ठले प्रतिक्रियावादी राज्य सञ्चालनलाई ध्वंस पार्न जनयुद्ध गरिएको बताउनुभयाे । तर, जनयद्धको उदेश्य अझै पूरा नभएको उहाँको भनाई छ । जनयुद्धले समाजवाद उन्मुख संविधान लेख्न सफल भएपनि कार्यन्वयन गर्न जटिल रहेको उहाँले बताउनुभयाे ।
युवा संघका केन्द्रीय सदस्य शरण सापकोटाले ओली सरकारले १० बर्षे जनयुद्धको उपलब्धीलाई धरापमा पारेको बताउनुभयाे । मित्रबन्धु पौडेलले सवल नेतृत्वलाई गणतन्त्रको जिम्मा नलगाएसम्म संस्थागत हुन नसक्ने टिप्पणी गर्नुभयाे । नगर कमिटी सदस्य रामचन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालान नगर कमिटी सदस्य दिर्घबहादुर थापाले गरेका थिए । सो अवसरमा जनयुद्धका शहिदलाई स्मरण गर्दै दिप प्रज्वलन गरिएको थियो ।