दुलेगौँडा : तनहुँको शुक्लागण्डकी–१० भक्कलस्थित जनकल्याण आधारभुत विद्यालयको ३२ औँ बार्षिकोत्सव एवम अभिभावक दिवस मनाईएको छ । आईतबार विभिन्न कार्यक्रम गरी मनाईएको हो ।
सो अवसरमा बोल्दै वडाध्यक्ष रामचन्द्र भण्डारीले विद्यार्थीलाई समयसापेक्ष शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । प्राविधिक शिक्षाले रोजगारीको अवसर सिर्जना गर्ने भएकाले त्यतातिर आफुले जोड दिएको बताउनुभयो । शिक्षक, विद्यार्थी र अभिभावकको समन्वयमा मात्र विद्यालयको शैक्षिक अवस्था सुधार गर्न सकिने उहाँको भनाई छ ।
वडा सदस्य राजेन्द्र भट्टराई क्षेत्रीले बसाईसराई रोकेर सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बृद्धी गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षिका फुलमाया विक र सञ्चालन गंगामाया लम्सालले गर्नुभएको हो । कार्यक्रममा स्थानिय शिक्षासेवी चेतनारायण पौडेल, बोधराज पौडेल, दलबहादुर थापा लगायतले बोल्नुभएको थियो ।