आफ्नै पाठ्यक्रम बनाउने तयारीमा म्याग्दे गाउँपालिका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आफ्नै पाठ्यक्रम बनाउने तयारीमा म्याग्दे गाउँपालिका

    खबरपुञ्ज संवाददाता

    १ फाल्गुन २०७७, आईतवार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका स्थानीय पाठ्यक्रम निर्माणका लागि जुटेको छ । केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृति, जनजीवन, भूगोल लगायतलाई समेट्न नसक्ने महशुस गर्दै गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माणको तयारी गरेको हो ।

    स्थानीय पाठ्यक्रम निर्माणका लागि गाउँपालिकाले आइतबारदेखि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले केन्द्रमा निर्मित पाठ्यक्रमले स्थानीय विषयवस्तु र आवश्यकता महशुस गर्न नसक्ने हुँदा स्थानीय पाठ्यक्रमको आवश्यकता परेको बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले म्याग्देको परिचय दिने खालको पाठ्यक्रम तयार गर्नुपर्ने बताउनुभयो ।

    गाउँपालिकाभित्र सञ्चालित एकदेखि पाँच कक्षासम्मका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माणको तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ मा भएको प्रावधान अनुसार स्थानीय तहले आधारभूत तहमा एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्न पाउने व्यवस्था छ ।

    अन्तरक्रिया कार्यक्रममा स्थानीय पाठ्यक्रम निर्माण समितिका संयोजक श्रीबहादुर थापा, जिल्ला विकास समितिका पूर्व सभापति विश्वबहादुर अधिकारी, शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख रमाकान्त शर्मा लगायतले स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शनमा रहेर पाठ्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो ।