स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई एक महिना बराबरकाे पाेषण भत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई एक महिना बराबरकाे पाेषण भत्ता

    खबरपुञ्ज संवाददाता

    २ फाल्गुन २०७७, सोमबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई एक महिना बराबरको खाना र बस्नका लागि भत्ताको व्यवस्था गर्ने कार्यक्रम ल्याएको छ । मातृ तथा नवशिशु स्वास्थ्य र पोषण प्रबद्र्धन एवं व्यवस्थापन कार्यक्रम बमोजिम गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई एक महिना बराबरको पोषण भत्ता उपलब्ध गराउन लागेको हो ।

    सुरक्षित प्रसुती तथा कुपोषणमुक्त गाउँपालिका बनाउने उद्देश्य सहित यस्तो कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो । “स्वास्थ्य क्षेत्र सुदृढ गर्न तथा सुरक्षित प्रसुती एवं कुपोषणमुक्त बालबालिका बनाउन यो कार्यक्रम ल्याएका हौ,” अध्यक्ष रानाले भन्नुभयो, “यसले मातृ मृत्युदर घटाउनुका साथै आमा र शिशुको स्वास्थ्यलाई समेत फाइदा पुग्छ ।”

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार प्रसुती हुनुभन्दा अगाडिको र भए पश्चात्को १५÷१५ दिनको समय गरी एक महिना अस्पताल वा स्वास्थ्य संस्थामा रहँदा पोषणयुक्त खाना (खाना, मासु, अण्डा, दूध, फलफूल, हर्लिक्स) व्यवस्थापन गर्ने वा सो बापत प्रतिदिन रु आठ सयका दरले भत्ता उपलब्ध गराइनेछ ।

    साथै सुत्केरीलाई घर पठाउँदा प्रति व्यक्ति रु दुई हजार यातायात खर्च र रु ६ हजार नवशिशु पोषण खर्च गरी रु आठ हजार भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ । प्रसुती कुरुवाका लागि पनि भत्ताको व्यवस्था गरिएको छ । “हामीले यो व्यवस्था नेपालमै पहिलो पटक शुरुवात गरेका छौ, महिलाहरुले यो सुविधा पाउन थालिसकेका छन्,” अधिकारीले भन्नुभयो ।

    गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा सम्भव नहुने जटिल प्रकृतिको गर्भवतीलाई अन्यत्र प्रसुती गराउन जाँदा पनि यातायात खर्च बापत रु पाँच हजार उपलब्ध गराइनेछ । “स्वास्थ्य संस्थामा ल्याउँदा र घर लैजादाको खर्चको व्यवस्थापन पनि गाउँपालिकाले मिलाउनेछ,” उहाँले भन्नुभयो ।