दुलेगौँडा : मिलेनियम गुफाको शिरमा रहेको घरेडी गाउँ । जुन गाउँ मिलेनियम ट्रेकको रुटमा पर्दछ । ग्रामीण पर्यटनको यथेष्ट सम्भावना छ । मिलेनियम ट्रेकको रुट पहिचान भएपश्चात देशी विदेशी पर्यटकको आउजाउ भईरहने गाउँ पनि हो । तर, यहाँका गाउँलेले व्यावसायिक रुपमा होमस्टे भने चलाएका थिएनन् । पछिल्लो समय होमस्टेमार्फत पर्यटन प्रबद्र्धन र गाउँलेको आर्थिकस्तर उकास्न गण्डकी प्रदेश सरकारले सघाउन थालेपछि दर्ता गरेर यहाँका स्थानीय होमस्टे चलाउन कस्सिएका छन् । घरेडी र मिलेनियम होमस्टे दर्ता भएर सञ्चालन गरिएको छ । प्रदेश सरकारले आर्थिक रुपमै सघाउने भएपछि यहाँका स्थानीय पूर्वाधार निर्माणमा पनि जुटेका छन् ।
शुक्लागण्डकी नगरपालिका– १२ फिरफिरेका दुवै होमस्टेलाई पायक पर्ने स्थानमा संयुक्त रुपमा बहुउद्धेश्यीय सामुदायिक भवन निर्माण थालिएको छ । मंगलबार श्रीपञ्चमीको अवसर पारेर उक्त भवनको गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले शिलान्यास गर्नुभयो ।
उहाँले होमस्टे पर्यटन प्रबद्र्धनसँगै आम्दानीको स्रोत समेत बन्ने बताउनुभयो । उहाँले घरेडी गाउँ गण्डकीकै उत्कृष्ट गन्तव्यका रुपमा विकसित गर्नुपर्नेमा जोड दिनुभयो । ‘यहाँको प्राकृतिक सम्भावना र सांस्कृति तथा सामाजिक सम्भावनाको उजागर गर्नुपर्छ,’ उहाँले भन्नुभयो । गण्डकी प्रदेश सरकारले पनि होमस्टे प्रबद्र्धन जोड दिईरहेको उहाँको भनाई छ ।
वडाध्यक्ष मनराज गुरुङ ग्रामीण पर्यटनको केन्द्रको रुपमा फिरफिरेलाई विकास गर्ने योजना रहेको सुनाउनुभयो । ‘घरेडीमा नमुना होमस्टे बनाउछौँ,’ उहाँले भन्नुभयो । शिलान्यास गरिएको भवन गुरुङ समुदायको संस्कृति अनुसार कलात्मक बनाउने उहाँको भनाई छ । भवन निर्माणलाई पूरा गर्न आफुले हरतरहको सहयोग गर्ने उहाँको प्रतिबद्धता छ ।
वडासदस्य बुद्धसिंह गुरुङले पञ्चबर्षिय योजनाका साथ भवन निर्माण थालेको बताउनुभयो । १ करोड बजेट आवश्यक रहेको उहाँले जानकारी दिनुभयो ।
शिलान्यास गरिएको भवनका लागी गण्डकी प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ । यो रकम अपुग हुने भएकाले भवनलाई पूरा गर्न आगामी आर्थिक बर्षमा पनि बजेट उपलब्ध गराईदिन मिलेनियम होमस्टेकी अध्यक्ष कोपिला गौतमको अनुरोध छ । आफुहरु बामे सार्ने क्रममा रहेकाले सबैको सहयोगको अपेक्षा गरेको बताउनुभयो ।