प्रहरीको सफलता : १५ दिनपछि भागरथीको बलात्कारपछि हत्या गर्ने दिनेश भट्ट सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रहरीको सफलता : १५ दिनपछि भागरथीको बलात्कारपछि हत्या गर्ने दिनेश भट्ट सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    ५ फाल्गुन २०७७, बुधबार

    काठमाडौं : बैतडीको दोगडा केदार गाउँपालिका – ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने व्यक्ति सार्वजनिक गरेको छ । गत माघ २१ गते (बुधवार) विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा १७ वर्षिया किशोरी भागरथीको बलात्कारपछि हत्या गर्ने १६ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको हो ।

    प्रहरीले आज (बुधवार) सार्वजनिक गरेको अभियुक्त भट्ट भागरथी अध्ययनरत स्थानीय सनातन धर्म माविको कक्षा ११ मा पढ्ने किशोर हुन् । भागरथी सोही विद्यालयको कक्षा १२ मा व्यवस्थापन संकायमा अध्ययनरत थिईन् ।

    बयान लिएर छाडेको थियो प्रहरीले…

    घटना भएको केहि दिनमा नै ‘क्लोज रिङ’ मा राखेर अनुसन्धान गरेको प्रहरीले अभियुक्तको साबिती बयान, प्राप्त सबुत, अन्य प्रमाण, प्रत्यक्षदर्शीको भनाई लगायतलाई आधार मानेर यो अपराध उनैले गरेको पुष्टि गरेको हो । अभियुक्तले भागरथीसँग बदला लिनको लागि उनको बलात्कारपछि हत्या गरेको प्रहरीसमक्ष साबिती बयान दिएका छन् ।

    २ वर्षअगाडी कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा फितलो अनुसन्धान र शुरुदेखिनै गल्ती गरेको प्रहरीले सोही प्रकृतिको भागरथी बलात्कारपछि हत्या प्रकरणमा निकै संयमित भएर अनुसन्धान गरिरहेको थियो । आज (बुधवार) सार्वजनिक अभियुक्त दिनेशसँग पनि प्रहरीले शुरुमै सोधपुछ गरेको थियो । तर पर्याप्त प्रमाण नभएका कारण उसलाई प्रहरीले छाडेको थियो । एक उच्च प्रहरी अधिकृतका अनुसार अहिले पर्याप्त प्रमाणसहित दिनेशलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

    थप अनुसन्धान प्रभावित नहोस् र भिड नभड्कीयोस् भन्नको लागि भनेर प्रहरीले ‘क्लोज रिङ’मा राखेर ‘अब्जरभेसन’ गरेकाहरुको बारेमा केहि पनि बोलेको थिएन । भागरथीको बलात्कारपछि हत्याको दुई हप्तासम्म अपराधी नभेटिनुले निर्मला पन्तको जस्तै गरी दोषी उम्कने हुन् कि भन्ने संशय आम नागरिकमा थियो । भागरथीको न्यायको लागि देशभरबाट दबावमूलक कार्यक्रमहरु आयोजना भएका थिए । जिल्ला अस्पताल बैतडीको पोस्टमार्टम रिपोर्टले भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि गरेका कारण परिवारले पनि दोषी पत्ता लागेर कानूनी कठघरामा नउभ्याएसम्म शव नबुझ्ने अडान लिएका कारण उनको शव जिल्ला अस्पतालमा नै राखिएको थियो ।

    …अनि भागरथी फर्किईनन् !

    गत माघ २१ गते (बुधवार) स्कूल गएकी छोरी साँझसम्म पनि घर नफर्केपछि उनकी आमा द्रोपदीले गाउँघर र आफन्तकहाँ खोजी गरेकी थिईन् । भट्टका परिवारले माघ २२ गते (बिहिवार) साँझ ५ बजेतिर भागरथीको साथीहरुले गरेको खबरको आधारमा उनको शव लवलेक जंगलको बाटोभन्दा तलपट्टि करिब ७० मिटर मुनिको बनमाराको झाडीमा फेला पारेका थिए ।

    प्रहरीको संयमताले अनुसन्धान सफल

    प्रहरीले माघ २२ गते (बिहीवार) रातभर भागरथीको शव घटनास्थलमा नै कुरेर अपराध अनुसन्धान टोलीलाई पर्खेको थियो । घटनास्थलमा पुगेको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबी, चिकित्सकले विभिन्न कोणबाट अनुसन्धान गरी सबुत तथा प्रमाणहरु संकलन सकेपछि भागरथीको शव उठाइएको थियो ।

    माघ २३ गते घटनास्थलमा तालिमप्राप्त कुकुर लिएर गएर प्रहरीको लागि किशोरीको बलात्कारपछि हत्या भएको रात पानी परेका कारण अनुसन्धानमा केहि कठिनाई भयो । तर प्रहरीले शुरु देखि नै यो घटनामा निकै संयम प्रस्तुत गरेको छ । प्रहरीको कुकुरले नै मृतक भागरथीको सामान्य किप्याड मोबाईल शव भएभन्दा केहि पर फेला पारेको थियो । भागरथीको मोबाइलको ब्याट्री एक सरकारी पद धारण गरेका व्यक्तिको घर नजिक फेला परेको थियो ।

    अपराध गराएपछि व्यक्तिले प्रयोग गरेको बाटो केहि हिँडेको कुकुर पछि रोकिएको थियो । प्रहरीको कुकुरले घटनास्थल नजिकै रहेको खोचलेक बजार (गाउँपालिकाको केन्द्रसमेत रहेको) तर्फ संकेत गरेको थियो । त्यसपछि बजारमा सयजना भन्दा बढी प्रहरी खटिएका थिए ।

    सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी उत्तम सुवेदी आफैँ माघ २३ गते शुक्रवारदेखि घटनास्थलमै बसेर अनुसन्धान गरिरहेका थिए। करिअर नै दाउमा राखेर डिआईजी सुवेदी आफैँ फिल्डमा गएका कारण पनि प्रमाणका स-साना अंशलाई पनि सुक्ष्म अध्ययन गरेको थियो, प्रहरीले । प्रहरीले घटनास्थल र केही ‘क्लू’ फेला पार्नेबित्तिकै चिनेजानेकै मानिसबाट भागरथीको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको थियो ।

    लाेकपथ डटकमकाे सहयाेगमा