तनहुँ जलविद्युत आयोजना : प्याकेज १ का लागि निर्माण कम्पनीसँग सम्झौताकाे तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    तनहुँ जलविद्युत आयोजना : प्याकेज १ का लागि निर्माण कम्पनीसँग सम्झौताकाे तयारी

    खबरपुञ्ज संवाददाता

    ५ फाल्गुन २०७७, बिहीबार

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन रहेको एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्याकेज १ का लागि निर्माण कम्पनीसँग सम्झौताको तयारी गरिएको छ ।

    पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेकामा एसियाली विकास बैङ्कले सोङ्दा भियतनाम÷कालिका जेभीलाई छनौटको स्वीकृती दिएपछि उक्त कम्पनीसँग सम्झौताको तयारी गरिएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो । “सबैभन्दा कम दर प्रस्ताव गरेको र आर्थिक एवं प्राविधिक रुपमा प्रभावग्राही देखिएपछि उक्त कम्पनीले पहिलो प्याकेजको ठेक्का पाएको हो,” घिमिरेले भन्नुभयो ।

    उहाँका अनुसार फागुनभित्रै पहिलो प्याकेजको काम अगाडी बढाउन निर्माण कम्पनीसँग सम्झौता गर्ने तयारी छ । उक्त कम्पनीले पहिलो प्याकेजका लागि रु १६ अर्ब ६८ करोडमा ठेक्का प्राप्त गरेको छ ।

    पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेज अन्र्तगत एक सय चालिस मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिनेछ । कम्पनीले यसअगाडी पहिलो प्याकेजका लागि सिएमसीसँग ठेक्का रद्द गरेर पुनः बोलपत्र आह्वान गरेको थियो ।

    आयोजनाको प्याकेज दुई अन्तर्गत भने करिब रु एक अर्ब खर्च भइसकेको छ । प्याकेज दुई अन्तर्गत सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले काम गरिरहेको छ । प्याकेज दुई अन्तर्गत सिनोले सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।

    त्यस्तै प्याकेज तीन अन्तर्गत प्रशारण लाइन निर्माणका लागि रु तीन करोड खर्च भएको छ । प्रशारण लाइन निर्माणका लागि भारतको केइसि इन्टरनेशनल लिमिटेडले ठेक्का पाएको छ ।

    आयोजनाले प्रशारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले त्यसको प्रकृयालाई समेत अगाडी बढाइसकेको छ । टावर राख्नका लागि ५३ जना व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्नेछ । आयोजनाको प्रशारण लाइन निर्माणका क्रममा टावर राख्नका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिनेछ भने तार तान्नका लागि २१ हेक्टर क्षेत्रफललाई क्षतिपूर्ति दिइनेछ ।

    प्रशारण लाइन निर्माणका लागि तनहुँ र चितवनतर्फका वन क्षेत्रमा पर्ने रुखहरु कटान हुनेछन् । तनहँुतर्फ ३० हेक्टर वन क्षेत्रको रुख कटान गर्नुपर्ने र त्यसका लागि फाइल वन विभागमा पठाइएको छ । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । चालु आर्थिक वर्षमा प्रशारण लाइनका लागि ३० वटा टावर निर्माण गरिनेछ ।

    आयोजनाको प्याकेज दुई अन्तर्गतको विद्युत गृहको काम पनि भइरहेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको ‘केवल टनेल’को काम पूरा भएसँगै विद्युत गृहको काम भइरहेको छ ।

    आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार १ सय ६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगृत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट उर्जा उत्पादन गर्नेछ ।

    आयोजनाको कुल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाईन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।