दमौली अस्पतालमा थाइराइड, आँखा र दाँत सेवा शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली अस्पतालमा थाइराइड, आँखा र दाँत सेवा शुरु

    खबरपुञ्ज संवाददाता

    ६ फाल्गुन २०७७, शुक्रबार

    तनहुँ : तनहुँको दमौली अस्पतालमा थाइराइड, आँखा र दाँत सेवा शुरु भएको छ । अस्पताललाई व्यवस्थित एवं अत्याधुनिक बनाउने प्रयास स्वरुप शुक्रबारदेखि अस्पतालले थाइराइड, आँखा र दाँत सेवा शुरु गरेको हो ।

    दमौली अस्पतालबाटै थाइराइड सेवा शुरु भएपछि सर्वसाधारण यसको उपचारका लागि महङ्गो शुल्क तिरेर अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । थाइराइड परीक्षणका लागि अस्पतालले निजी ल्याबभन्दा ४० प्रतिशत कम शुल्कमा सेवा दिने अधिकारीले बताउनुभयो ।

    गण्डकी प्रदेश सरकारले रु दश लाख मूल्य पर्ने थाइराइड परीक्षण उपकरण उपलब्ध गराएको थियो । दमौलीस्थित एक निजी प्रयोगशालामा भने थाइराइडको परीक्षण हुँदै आएको छ । “सरकारी स्वास्थ्य संस्थामै उक्त सेवा शुरु भएपछि महङ्गो शुल्क तिरेर अन्यत्र परीक्षण गर्न जानुपर्दैन,” अधिकारीले भन्नुभयो ।

    अधिकारीका अनुसार अस्पतालबाटै आँखाको शल्यक्रिया गर्नका लागि पनि पहल भइरहेको छ । “शल्यक्रियाका लागि उपकरण ल्याउन पहल भइरहेको छ, त्यसपश्चात् आँखाका बिरामीलाई पनि शल्यक्रियाका लागि अन्यत्र जानुपर्दैन,” उहाँले भन्नुभयो । दमौली अस्पतालमा आँखा परीक्षण गराउन आउनेमध्ये दैनिक तीन जनालाई शल्यक्रियाका लागि पोखरा सिफारिस गर्ने गरिएको छ ।

    त्यस्तै अस्पतालमा नयाँ दाँत हाल्ने सेवा पनि थप गर्न लागिएको छ । हाल उक्त बाहेक सबै दाँतका सेवा अस्पतालबाट प्रदान भइरहेको छ । दाँतको उपचारका लागि डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याइएको छ । उक्त मेसिन खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रकम उपलब्ध गराएको थियो । उक्त मेसिनलाई करीब रु ५० लाख मूल्य पर्छ । दमौली अस्पतालमा दन्त सेवा नहुँदा सर्वसाधारणले निजी स्वास्थ्य संस्थामा सेवा लिनुपर्ने बाध्यता थियो ।

    अस्पतालका नेत्ररोग विशेषज्ञ डा. सुधा रानाभाटले उपकरण थप गर्न सकिए अस्पतालबाटै शल्यक्रिया सेवा दिन सकिने बताउनुभयो । दन्तरोग विशेषज्ञ डा. सुनिल सुवेदीले शुरुवाती दिनमा दाँतको सेवा दिन कठिनाई रहेपनि उपकरण थप भएपछि सहज भएको बताउँदै कृत्रिम दाँत हाल्ने व्यवस्था मिलाउन समितिलाई अनुरोध गरिएको बताउनुभयो ।

    थाइराइड, आँखा तथा दाँत सेवाको शुक्रबार व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशी र दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले शुभारम्भ गर्नुभयो । उक्त सेवा शुरु भएपछि दमौलीका मात्रै नभई छिमेकी जिल्लाका सर्वसाधारण पनि लाभान्वित हुने उपप्रमुख जोशीले बताउनुभयो ।

    विसं २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पताल उपकरण थप्ने प्रयासमा जुटेको छ । अध्यक्ष अधिकारीका अनुसार सरकारले ३५ शैय्या खरिदका लागि बजेट उपलब्ध गराइसकेको छ । “सामान्य उपचारका लागि पोखरा, चितवन र काठमाडौ जानुपर्ने अवस्थाको अन्त्य गर्नका लागि अस्पताल सुधारको काम गरिरहेका छौ, नयाँ नयाँ उपकरण थप भइरहेको छ,” उहाँले भन्नुभयो ।

    अस्पतालमा हालै मात्र प्रसुतीरोग विशेषज्ञको समेत व्यवस्था भएको छ । यससँगै अस्पतालबाटै प्रसुती सेवा समेत शुरु भएको छ । यसअगाडी पनि अस्पतालमा प्रसुती सेवा सञ्चालनमा रहेपनि विशेषज्ञ चिकित्सिकको सरुवा भएपछि उक्त सेवा रोकिएको थियो ।

    दमौली अस्पतालका मेसु डा. सुनिल पौडेलले अस्पतालको ल्याबलाई पूर्ण स्वचालित बनाइएको जानकारी दिनुभयो । उहाँका अनुसार सघन उपचार कक्ष निर्माणको काम अन्तिम चरणमा पुगेको छ । “अस्पताल सुधारका धेरै काम भएका छन्, यसले गर्दा सर्वसाधारणले सहज रुपमा सेवा प्राप्त गर्न सक्ने अवस्था बनेको छ,” उहाँले भन्नुभयो ।

    अस्पतालमा केही समय अगाडी एनेस्थेसिया उपकरण जडान गरिएको थियो । बिना अक्सिजन शल्यक्रिया गर्न सकिने रु २० लाख बराबरको उक्त मेसिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको थियो ।

    १५ शैय्याको अस्पताललाई ५० शैय्यामा स्तरोन्नतिका लागि प्रदेश सरकार मातहत रहेका दुई सरकारी कार्यालयको जग्गा उपलब्ध गराइदिन मुख्यमन्त्रीसँग अनुरोध गरिसकिएको छ । कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गामध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउन अस्पताल व्यवस्थापन समितिको माग छ ।

    अस्पतालबाट हाल ४२ शैय्यामा सेवा प्रवाह भइरहेको छ । अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसुतिरोगका विशेषज्ञ डाक्टरको दरवन्दी थप हुनेछ । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवा समेत प्रदान गर्दै आइरहेको छ । विसं २०३४ सालमा स्वास्थ्यचौकीको रुपमा स्थापना र विसं २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो ।