तनहुँ : तनहुँको व्यास नगरपालिकाले सडक बोर्डबाट प्राप्त बजेटमा ३० प्रतिशत लागत साझेदारी गर्ने निर्णय गरेको छ । नगरपालिकालाई यस वर्ष सडक बोर्डबाट प्राप्त हुने रु एक करोड १५ लाख बजेटमा नगरपालिकाले ३० प्रतिशत लागत सहभागिता गर्ने निर्णय गरेको हो ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिकाको बैठकले लागत साझेदारीमा व्यास नगरपालिका–१, २, ३, ४, ५, ७, १० र ११ अन्तर्गतका सडक, नाला, कल्भर्ट मर्मत स्याहार यसै वर्ष सम्पन्न गर्ने गरी लगत इष्टमेट गराई स्वीकृतीका लागि सडक विकास बोर्डमा पठाउने निर्णय गरेको छ ।
गण्डकी प्रदेश सरकारबाट काठेपोल विस्थापन गर्न गत वर्ष प्राप्त स्टिल पोलहरु गाड्न विद्युत प्राधिकरण तनहुँ र शिशाघाट सामुदायिक विद्युतीकरण समितिलाई अनुरोध गर्नुका साथै नगरपालिकामा आवश्यक करिब दुई हजार सात सय पोल गण्डकी प्रदेश सरकारसँग माग गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले विपद् व्यवस्थापन अन्तरगत गत असार श्रावणमा आएको बाढी पहिरोले क्षति पु¥याएका बाँध, कुलाहरु र खेतहरुलाई पुर्नस्थापना गर्न नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडाध्यक्ष र विपद् उपशाखा प्रमुख रहेको एक समिति गठन गर्ने र स्थलगत अध्ययन गरी आवश्यक निर्णय लिन जिम्मेवारी दिने निर्णय गरेको छ ।
भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको घरजग्गा दर्ता सम्बन्धमा भए गरेका कार्यहरुको समिक्षा गरिनुका साथै अत्याधिक चाप भएका वडा नं ५, १० र १२ मा जनशक्ति थप गर्ने निर्णय भएको छ । व्यास नगरपालिका भित्रका ७० वर्ष पुगेका ज्येष्ठ नागरिकको आँखा परीक्षण सम्बन्धि चार दिने शिविर फागुन ११ गतेदेखि १४ गतेसम्म बालमन्दिर माविमा आयोजना गरिनेछ ।
सुरक्षित आवास कार्यक्रम अन्तरगत व्यास नगरपालिकाभित्र पहिलो किस्ता लगिसकेका सेवाग्राहीलाई दोस्रो किस्ता बापत पाउने रकम नगरपालिकामा निकासा प्राप्त भएकाले सम्बन्धित वडा प्राविधिकको कार्य सम्पन्न प्रतिवेदन साथै राखी पेश गर्न सम्बन्धित वडाहरुलाई निर्देशन दिने निर्णय समेत बैठकले गरेको छ ।