तनहुँ : तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु ९ करोड भन्दा बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्ष ०७७÷७८ को साउदेखि माघ मसान्तसम्म रु ९ करोड २२ लाख १२ हजार नौ सय ८० आन्तरिक आम्दानी भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाले चालु आर्थिक वर्षमा रु १६ करोड आन्तरिक आम्दानी हुने लक्ष्य राखेको छ ।नगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको थियो । कोभिड–१९ को प्रभावका कारण गत आर्थिक वर्षमा लक्ष्य भन्दा रु ६ करोड कम राजश्व सङ्कलन भएको थियो । गत आर्थिक वर्षमा रु १६ करोड ६ लाख ९६ हजार राजश्व सङ्कलनको लक्ष्य थियो ।