तनहुँ : तनहुँको व्यास नगरपालिका–२ स्थित दमौली बचत तथा ऋण सहकारीको रकम हिनामिना सम्बन्धमा जिल्ला अदालत तनहुँमा दर्ता भएको ठगी मुद्दामा पाँच जनालाई कैदको फैसला भएको छ ।
जिल्ला न्यायधीश बासुदेव पौडेलको सोमबारको इजलासले पाँच प्रतिवादीलाई तीन वर्ष कैद र रु ३० हजार जरीवानाको फैसला गरेको हो । जिल्ला अदालत तनहुँका श्रेस्तेदार मिनबहादुर कुंवरका अनुसार व्यास नगरपालिका–२ बस्ने दिव्या थापा, राजु थापा, व्यास नगरपालिका–१ बस्ने दिपिका थापा, व्यास नगरपालिका–५ बस्ने याममाया दरै र व्यास नगरपालिका–१० बस्ने चेलीमाया थापालाई तीन वर्ष कैद फैसला सुनाइएको छ । साथै बिगोको हकमा सोही प्रतिवादीबाट दामासाही रुपमा भराउने फैसला समेत अदालतले गरेको कुंवरले जानकारी दिनुभयो ।
जिल्ला अदालतले अन्य प्रतिवादीलाई भने सफाई दिएको छ । हरिबहादुर गुरुङले १६ जनालाई प्रतिवादी बनाएर विसं २०७५ असार ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुभएको थियो । उक्त मुद्दाको दश पटक पेशी चढेको थियो ।
दमौली बचत तथा ऋण सहकारीमा साढे चार करोड रकम हिनामिनाको अभियोग लागेको थियो । यसअगाडी तत्कालिन तनहुँ जिल्ला अदालतका न्यायधिश दिपक ढकालको आदेशबाट सहकारीकी सचिव दिव्या थापा, लेखापालद्वय लक्ष्मी थापा र शुभेच्छा दरै पुर्पक्षका लागि थुनामा गएका थिए । सोही मुद्दाका आरोपी सहकारी संस्थाका कोषाध्यक्ष राजु थापा भने रु एक लाख धरौटी बुझाएर रिहा भएका थिए ।