आँखा परीक्षण गर्न पाउँदा ज्येष्ठ नागरिक हर्षित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आँखा परीक्षण गर्न पाउँदा ज्येष्ठ नागरिक हर्षित

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०७७, बुधबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–४ सिमलटार निवासी गोपनास सापकोटा ७९ वर्ष पुग्नुभयो । उहाँलाई आँखामा आँशु बगिरहने समस्या छ । ७० वर्ष नाघेपछि उहाँलाई यस्तो समस्या देखिएको छ । यही समस्या सुनाउँदै उहाँ व्यास नगरपालिकाले आयोजना गरेको आँखा परीक्षण शिविरमा आउनुभयो ।

    व्यास नगरपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गरेर मङ्गलबारदेखि आँखा परीक्षण शिविर शुरु गरेको छ । शिविरमा आउनुभएका सापकोटालाई चिकित्सकले चस्मा लगाउन सुझाव दिनुभयो । “आँखाबाट आँशु आइरहन्थ्यो, परीक्षण गर्ने अवसर पनि जुटेको थिएन, नगरपालिकाले आयोजना गरेको शिविरमा आएर आँखा जचाउन पाइयो, खुशी लागेको छ,” उहाँले भन्नुभयो ।

    व्यास नगरपालिका–२ निवासी ८७ वर्षीया वेदमाया वाग्लेले घरआँगनमै आँखा परीक्षण गराउन पाउँदा खुशी लागेको बताउनुभयो । “बूढेशकालमा घर आँगनमै आँखा परीक्षण गराउन पाउँदा सजिलो भयो,” उहाँले भन्नुभयो ।

    ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा नगरपालिकाले चार दिने आँखा शिविर शुरु गरेको छ । शिविरमा नगरपालिकाका १४ वटै वडाका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुको आँखा परीक्षण गरिनुका साथै आवश्यकता अनुसार निःशुल्क औषधी र चस्मा वितरण गरिनेछ ।

    आँखा परीक्षण गर्दा शल्यक्रिया गर्नुपर्ने अवस्था भएकालाई निःशुल्क शल्यक्रिया सेवा समेत प्रदान गरिने नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । उमेर ढल्किँदै जाँदा आँखा सम्बन्धी समस्याका कारण कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्यले सबै वडा समेटिने गरी शिविर सञ्चालन गरिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो । “ढल्किदो उमेरसँगै आँखाको ज्योति कमजोर हुन्छ । ज्येष्ठ नागरिकका सामान्य दैनिकी समेत प्रभावित हुने हुँदा शिविर आयोजना गरेका हौ,” उहाँले भन्नुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलका अनुसार शिविरको पहिलो दिन व्यास नगरपालिका–१, २, ३ र ४ का ज्येष्ठ नागरिकको आँखा जाँच गरिएको छ । फागुन १२ गते व्यास नगरपालिका–५, ६, ७ र ८ का ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिनेछ । त्यस्तै फागुन १३ गते व्यास नगरपालिका–९, १०, ११, १२ र फागुन १४ गते व्यास नगरपालिका–१३ र १४ का ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिनेछ ।