नदीजन्य पदार्थ उत्खनन् गर्ने आठ सवारी नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नदीजन्य पदार्थ उत्खनन् गर्ने आठ सवारी नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    १२ फाल्गुन २०७७, बुधबार

    तनहुँ : तनहुँको विभिन्न ठाउँमा नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन् गर्ने सवारी साधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । जिल्लाको म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाबाट प्रहरीले एक एक्साभेटर सहित आठ वटा सवारी साधन नियन्त्रणमा लिएको हो ।

    म्याग्दे गाउँपालिका–५ सेतीनदीको किनारबाट अवैध रुपमा बालुवा उत्खनन् एवं लोड गर्दै गरेको अवस्थामा ग १ क २८७९ नम्बरको एक्साभेटर सहित ग १ ख ८७७७ नम्बरको टिप्परलाई ईलाका प्रहरी कार्यालय भीमादबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । उक्त सवारीलाई आवश्यक कारवाहीका लागि म्याग्दे गाउँपालिका पठाइएकामा रु ४० हजार जरीवाना गरिएको छ ।

    बन्दीपुर गाउँपालिका–६ सराङघाटमा अवैध रूपमा सञ्चालन भई हाल बन्द रहेको नमुना ग्रिड एण्ड क्रसर उद्योग प्रालिबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा बोकी दमौलीतर्फ आउँदै गरेको ग १ ख ४७२७, ग १ क ३४२३, ग १ ख ९२५३ र ग १ ख ७९९७ नम्बरको टिप्परलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । ती सवारीसाधनलाई आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समिति पठाइएको छ ।

    भानु नगरपालिका–९ दमालघाट स्थितबाट अवैध रुपमा बालुवा उत्खनन् गरी लिई हिँडेको अवस्थामा ग १ क ५२२० नम्बरको टिप्टरलाई प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । उक्त टिप्परलाई आवश्यक कारवाहीका लागि भानु नगरपालिका पठाइएकामा रु २० हजार जरीवाना गरिएको छ ।

    यस्तै म्याग्दे गाउँपालिकास्थित सेतीदोभान घाटबाट अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् गरी ओसारपसार गर्दै गरेको अवस्थामा ग १ क ४२९० को टिप्परलाई प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई म्याग्दे गाउँपालिकाको कार्यालय बुझाएकामा रु २३ हजार जरीवाना भएको प्रहरीले जनाएको छ ।

    फाइल तस्वीर