तनहुँ : गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई बदर गरेर संविधानको रक्षा गरेको बताउनुभएको छ ।
“संविधान आफैले ट्रयाक छाडेको हैन् । ट्रयाक छोडाईएको हो । लिकमा ल्याईयो, त्यो भनेको ठूलो सफलता हो,” उहाँले भन्नुभयो । गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आँबुखैरेनी गाउँपालिकाको सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) गण्डकी प्रदेशले आँबुखैरेनीमा आयोजना गरेको सूचना प्रविधिको विकास र अबको पत्रकारिता विषयक बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चुमानले संसद पुर्नास्थपना नभएको भए मुलुक अध्यारो सुरुङमा जाने जिकिर गर्नुभयो । उहाँले अगाडी थप्नुभयो, “हामीले अहिलेसम्म प्राप्त गरेको उपलब्धि सबै सुरुङभित्र छिर्थे । तर, तपाई हामी सबैको दबाबले अदालतले संविधानको सम्मान गर्न सक्यो ।”
२१ औँ युग प्रविधिको युग भएकाले जोसँग सुचनामा पकड छ उही शक्तिशाली हुने उहाँको भनाई थियो । “नयाँ प्रविधिको बारेमा पत्रकार साथीहरुले जान्न प¥यो । थाहा पाउनप¥यो । उपयोग गर्न सक्नप¥यो,” उहाँले भन्नुभयो, “पत्रकार आफैमा जिम्मेवार हुनुपर्छ ।”
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले पत्रकारले देशको मुहार फेर्न सक्ने उल्लेख गर्नुुभयो । सही सूचना र तथ्याङ्क जनतासामु पु¥याउन उहाँको अनुरोध छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पत्रकार अपडेट नभए समाज नै पछाडी पर्ने विचार राख्नुभयो । फोनिज गण्डकीका अध्यक्ष एमबि आस्था मगरको अध्यक्षतामा भएको कार्यक्रममा आँबुखैरेनी गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, फोनिज गण्डकीका ईञ्चार्ज हुमबहादुर गुरुङ लगायतले बोल्नुभएको थियो । तनहुँ र कास्कीका पत्रकार सहभागी अन्तरक्रिया कार्यक्रममा सञ्चार प्रविधिको बिकास र अबको पत्रकारिता बिषयमा ग्लोबल मल्टिमिडिया जर्नालिष्ट रजनिस भण्डारीले प्रशिक्षण दिनुभएको थियो ।