दुलेगौँडा : शुक्लागण्डकी नगरपालिका–१० डिहीस्थित शहरी स्वास्थ्य सेवा केन्द्र ज्याङ्लादीको आफ्नै भवन तयार भएको छ । नवनिर्मित भवनको विहीबार उद्घाटन गरिएको छ । शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले उक्त भवनको उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा बोल्दै मेयर गुरुङले नगरबासीलाई शिक्षा र स्वास्थ्यको पहुँचमा ल्याउनलाई बिशेष प्राथमिता दिएको बताउनुभयो । उहाँले बस्ती बिकास हुने क्रममा रहेको स्थानमा सञ्चालन गरिएको शहरी स्वास्थ्य केन्द्रको समय अनुसार स्तरोन्नती गर्दैै लैजाने उल्लेख गर्नुभयो ।
वडाध्यक्ष रामचन्द्र भण्डारीले प्राथमिक उपचारका लागी घण्टौ टाढा पुग्नुपर्ने स्थानियको मर्म बुझेर स्वास्थ्य केन्द्र स्थपनाका लागी आफुले पहल गरेको बताउनुभयो ।गण्डकी प्रदेश सरकारको १६ लाख ६६ हजार रुपैयाँ र नगरपालिकाको ५ लाख रुपैयाँको लगानीमा भवन निर्माण गरिएको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । एक जना अहेव र एक जना कार्यालय सहयोगसहित यहाँबाट स्वास्थ्य सेवा प्रवाह भईरहेको उहाँको भनाई छ ।
भवन निर्माण समितिका अध्यक्ष नारायण सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य सानुमाया महत, शुक्लागण्डकी–१० का वडा सदस्य राजेन्द्र भट्टराई क्षेत्री, शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तव, नेपाल कम्युनिष्ट पार्टी शुक्लागण्डकी–१० वडा कमिटि अध्यक्ष याम खाँण, नेपाली कांग्रेसका वडा सभापति याम खाँण, स्थानिय निलकण्ठ सिग्देल लगायतले बोल्नुभएको थियो ।