दमाैली : ऋषिङ गाउँपालिकाको आयोजनामा प्रथम ऋषिङ अध्यक्ष कप हुने भएको छ । खेलमा युवाको आकर्षण बढाउने उद्देश्यसहित ऋषिङ गाउँपालिका–४ थप्रेकमा फागुन १५ गतेदेखि पालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
गाउँपालिकाले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको छ । गाउँपालिकालाई खेलकुदको माध्यमबाट देशभर चिनाउन प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्वस्थ नागरिकका लागि खेलकुद आवश्यक छ । ग्रामीण क्षेत्रबाट पनि खेलाडी उत्पादन गर्ने उद्देश्य सहित प्रतियोगिता गर्न लागेका हौ ।”
प्रतियोगितामा देशभरबाट सबै पालिकाले भाग लिन पाउनेछन् । प्रतियोगितामा प्रथम हुने पालिकालाई नगद रु एक लाख ३५ हजार सहित शिल्ड, दोश्रो हुनेलाई नगद रु ८० हजार र तेश्रोलाई नगद रु ५० हजारसहित शिल्ड प्रदान गरिने गाँउपालिकाले जनाएको छ ।