तनहुँ : नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नाममा गठन भएको भानु जन्मस्थल विकास समिति पुनः सङ्घीय सरकार मातहत आएको छ । सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तह मातहत राखिएको विकास समितिलाई पुनः सङ्घीय सरकार मातहत राखिएको हो ।
शुक्रबार भएको निर्णयसँगै भानु जन्मस्थल विकास समितिको सम्पूर्ण जिम्मा अब सङ्घीय सरकारले गर्ने तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो । “स्थानीय स्तरबाट पनि जन्मस्थललाई सङ्घीय सरकार मातहत राख्न माग भइरहेको थियो, लामो समयको प्रयासपछि उक्त कामले सार्थकता पाएको छ,” श्रेष्ठले भन्नुभयो ।
सङ्घीयता कार्यान्वयनसँगै स्थानीय सरकार मातहत आएको विकास समितिलाई सङ्घ सरकार मातहत नै राखेर थप व्यवस्थित बनाउनुपर्ने आवाज उठेको थियो । भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले विकास समितिलाई नगरपालिका मातहत राखिएको परिपत्र मन्त्रालयबाट प्राप्त भएपनि आफूहरुले यसलाई सङ्घ सरकार मातहत नै राख्न पटक–पटक ध्यानाकर्षण गराएको बताउनुभयो । यसअगाडी जन्मस्थल विकास समितिलाई सङ्घ सरकार मातहत नै राख्न प्रधानमन्त्री केपी शर्मा ओलीको समेत ध्यानाकर्षण गराइएको थियो ।
भानु जन्मस्थल विकास समिति यतिबेला पदाधिकारीविहिन छ । समितिमा अध्यक्ष र कार्यकारी निर्देशक नियुक्त हुुनुभएको छैन । भानुभक्त आचार्यको स्मृतिमा शिखरकटेरीमा रामायण भवन निर्माण भएपनि कसले संरक्षण गर्ने भन्ने द्विविधा रहँदै आएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु तीन करोडको लागतमा रामायण भवन निर्माण भएको छ ।
शिखरकटेरीमा निर्माण गर्ने भनिएको भानुगृहको काम भने हालसम्म अगाडी बढ्न सकेको छैन । पश्चिमाञ्चल विकास मञ्चले भानु गृहको पुनःनिर्माणका लागि शिलान्यास समेत गरेको थियो । विसं २०७३ साल चैत्र २२ गते ‘भानु शिखर कटेरी’ को तत्कालिन मुख्य सचिव डा. सोमलाल सुवेदी, पूर्व मुख्य सचिव लिलामणि पौडेल र पश्चिमाञ्चल विकास मञ्चका तत्कालिन अध्यक्ष रामकाजी कोनेले शिलान्यास गर्नुभएको थियो ।
भानृ गृह करिब रु ६८ लाखको लागतमा निर्माण हुने भनिएपनि निर्माण कार्य शुरु नभएको भानु जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताए । विसं २०५७ सालमा भानु जन्मस्थल विकास समितिको सहयोगमा आदिकवि भानुभक्त नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर पुर्ननिर्माण गरिएको थियो । जङ्गलबीचको खरको छानोको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो ।