७९५ ज्येष्ठ नागरिकको आँखा परीक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ७९५ ज्येष्ठ नागरिकको आँखा परीक्षण

    खबरपुञ्ज संवाददाता

    १४ फाल्गुन २०७७, शनिबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको आँखा शिविरबाट ७ सय ९५ ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा गरेको शिविरबाट १४ वटै वडाका ७ सय ९५ ज्येष्ठ नागरिक लाभान्वित भएका हुन् ।

    नगरपालिकाले मङ्गलबारदेखि शुक्रबारसम्म आँखा शिविर सञ्चालन गरेको थियो । शिविरमा परीक्षण गरिएकामध्ये ७० जनालाई आँखाको समस्या देखिएकाले उपचारका लागि सिफारिस गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार सिफारिस गरिएकाको शल्यक्रिया खर्च नगरपालिकाले बेहोर्नेछ ।

    “ज्येष्ठ नागरिकको माग बमोजिम नै नगरपालिकाले आँखा शिविर गरेको हो, शिविर सञ्चालन गर्दा ज्येष्ठ नागरिक खुशी हुनुभएको छ,” सिग्देलले भन्नुभयो । उहाँका अनुसार मोतियाविन्दु देखिएका ज्येष्ठ नागरिकको सोमबार र बुधबार शल्यक्रिया गरिनेछ ।

    उमेर ढल्किँदै जाँदा आँखा सम्बन्धी समस्याका कारण कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्यले सबै वडा समेटिने गरी शिविर सञ्चालन गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । “ढल्किदो उमेरसँगै आँखाको ज्योति कमजोर हुन्छ । ज्येष्ठ नागरिकका सामान्य दैनिकी समेत प्रभावित हुने हुँदा शिविर आयोजना गरेका हौ,” उहाँले भन्नुभयो, “शिविर प्रभावकारी भएको ठहर गरेका छौ ।”

    व्यास नगरपालिका–४ सिमलटार निवासी ७९ वर्षीय गोपनास सापकोटाले आँखा परीक्षण गराउन पाउँदा खुशी लागेको बताउनुभयो । “आँखाबाट आँशु आइरहन्थ्यो, परीक्षण गर्ने अवसर पनि जुटेको थिएन, नगरपालिकाले आयोजना गरेको शिविरमा आएर आँखा जचाउन पाइयो, खुशी लागेको छ,” उहाँले भन्नुभयो ।

    ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा नगरपालिकाले चार दिने आँखा शिविर आयोजना गरेको थियो ।