तनहुँ : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका ६ जना उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । व्यवसाय प्रबद्र्धनमा उत्कृष्ट कार्यगरे बापत विज्ञ केन्द्रले जिल्लाका विभिन्न ठाउँका कृषकलाई शनिबार सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा बाख्रापालनतर्फ भीमाद नगरपालिका–९ का शिवकुमार आले, गाईपालनतर्फ व्यास नगरपालिका–१ का दिपेन्द्र अधिकारी, भैसीपालनतर्फ व्यास नगरपालिका–१० का रमेश तिमिल्सिना, लेयर्स कुखुरापालनतर्फ व्यास नगरपालिका–५ का हिमाल श्रेष्ठ, ब्रोइलर कुखुरापालनतर्फ आँबुखैरेनीका रामबहादुर रसाइली र घाँस विकासतर्फ म्याग्दे गाउँपालिका–१ का बामदेव खनाल रहनुभएको छ ।
उत्कृष्ट व्यवसाय गर्ने कृषकलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । कृषकलाई गण्डकी प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले प्रशंसापत्रले सम्मान गर्नुभयो ।
कार्यक्रममा मन्त्री थापाले कृषि पेशा सम्मानित पेशा भएकाले यसलाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकार कृषकमैत्री रहेको उल्लेख गर्दै मन्त्री थापाले कृषकलाई मध्यनजर गर्दै सरकारले नीति तथा कार्यक्रम बनाएको बताउनुभयो ।