कारागारमा झडपपछि प्रशासनले बनायाे छानबिन समिति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कारागारमा झडपपछि प्रशासनले बनायाे छानबिन समिति

    खबरपुञ्ज संवाददाता

    १६ फाल्गुन २०७७, सोमबार

    तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले कारागार कार्यालयको अध्ययनका लागि छानबिन समिति गठन गरेको छ । कारागारका कैदीबन्दीबीच आइतबार झडप भएपछि प्रशासन कार्यालयले कारागारको विविध पक्षको अध्ययन गर्न सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

    प्रशासन कार्यालयले साेमबार प्रेस विज्ञप्ती मार्फत् तीन सदस्यीय छानबिन टोली गठन गरिएको जानकारी दिएको छ । विवादित र झगडामा संलग्न कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको र हाल कारागारको सम्पूर्ण स्थिति सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो । “घटना सम्बन्धमा कारागारभित्रका विविध पक्षको अध्ययन, छानबिन गरी आवश्यक सुझाव सहितको प्रतिवेदन पेश गर्न समिति गठन गरिएको छ,” बरालले भन्नुभयो ।

    कारागार कार्यालयभित्र रहेको ब्लक बि मा आन्तरिक प्रशासनको जिम्मेवारीमा रहेका कैदीहरु र सोही ब्लकमा रहेका अन्य थुनुवा, कैदीबीच कारागारभित्रको सेवासुविधामा विभेद गरेको भन्ने विषय बनाएर झगडा हुँदा पाँच जना कैदी घाइते भएका थिए । उनीहरुलाई दमौली अस्पतालमा उपचारपश्चात् कारागारमै फिर्ता गरिसकिएको छ ।

    कारागारका निमित्त जेलर नारायण अधिकारीका अनुसार झगडामा संलग्न २५ जना कैदीबन्दीलाई स्थानान्तरण गरिसकिएको छ । सुरक्षा निकायको बैठकको निर्णय अनुसार उनीहरुलाई आइतबार राति नै स्थानान्तरण गरिसकिएको उहाँले बताउनुभयो ।