तनहुँ : तनहुँको ऋषिङ गाउँपालिकाले आयोजना गरेको ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकी नगरपालिकाले जितेको छ । सोमबार भएको फाइनल खेलमा तनहुँको घिरिङ गाउँपालिकालाई हराउँदै शुक्लागण्डकीले अध्यक्ष कपको उपाधि जितेको हो ।
शुक्लागण्डकीले घिरिङलाई सोझो सेटमा पराजित गरेको छ । शुक्लागण्डकीले २५–१८, २५–१७ र २५–१७ को सोझो सेटमा घिरिङलाई पराजित गरेको हो । यसैगरी प्रतियोगितामा तनहुँको भीमाद नगरपालिका तृतीय भएको छ । भीमाद र नवलपुरको बुलिङटार गाउँपालिकाबीच भएको खेलमा भीमाद २५–१४, २९–३१, २५–१४ र २५–२१ ले विजयी भएको हो ।
खेलमा युवाको आकर्षण बढाउने उद्देश्यसहित गाउँपालिकाको आयोजनामा शनिबारदेखि ऋषिङ गाउँपालिका–४ थप्रेकमा प्रतियोगिता शुरु भएको थियो । प्रतियोगितामा तनहुँका साथै छिमेकी पालिका गरी १७ टिमको सहभागिता थियो ।
प्रतियोगितामा प्रथम हुन सफल शुक्लागण्डकीले नगद रु एक लाख ३५ हजार र शिल्ड प्राप्त गरेको छ । द्वितीय हुने घिरिङ गाउँपालिकाले नगद रु ८० हजारमा चित्त बुझायो । तृतीय हुने भीमाद नगरपालिकाले रु ५० हजार पुरस्कार प्राप्त गरेको छ । विजेतालाई ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनुमाया थापा, प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले पुरस्कार वितरण गर्नुभयो ।