तनहुँ : तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले मन्त्री पदको आश्वासन दिएको भनेर एक दैनिकमा आएको समाचारमा सत्यता नरहेको बताउनुभएको छ । मङ्गलबार प्रकाशित एक दैनिक पत्रिकामा उल्लेख भए अनुसार कुनै समूहले मन्त्री पदको आश्वासन दिएको भनेर आएको समाचारमा विश्वसनीयता नरहेको सांसद श्रेष्ठले उल्लेख गर्नुभएको हो ।
मङ्गलबार नै प्रेस विज्ञप्ती प्रकाशित गर्दै सांसद श्रेष्ठले आफूसँग कुनै प्रतिक्रिया नलिईकन अनुमानको भरमा राखिएको विषयवस्तुप्रति गम्भीर असहमति रहेको प्रष्ट पार्नुभएको छ । विज्ञप्तीमा भनिएको छ, “उक्त समाचारको कारणले कुनै भ्रममा नपर्न र म जहिले पनि पार्टी एकताको पक्षमा रहेको जानकारी गराउँदै पार्टी एकता अभियानमा निरन्तर लागिरहने र सरकारको स्थायीत्वको अभियानमा पनि संधै लागिरहने प्रतिबद्धता जनाउँदछु ।”
प्रतिनिधिसभाको पुनःस्थापना पछि विवाद स्वभाविक रुपमा नेकपाको संसदीय दलमा प्रवेश गरेको र बहुमत प्राप्तदल भित्रैबाट प्रधानमन्त्री चयन हुने सन्दर्भमा प्रतिनिधि सभाको सदस्यको हैसियतमा आफूलाई मात्रै नभई सम्पूर्ण सांसदहरुलाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुप्षकमल दाहालले फोन गर्नु र भेट्न खोज्नु सामान्य कुरा रहेको सांसद श्रेष्ठले उल्लेख गर्नुभयो ।