


तनहुँ : नारी दिवसको अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गरेको छ । एक सय एघारौ नारी दिवसको अवसरमा गाउँपालिकाले फागुन २४ गते श्रीमतीले श्रीमान्लाई बोकेर दौडिने प्रतियोगिता गर्न लागेको हो ।
देवघाट गाउँपालिका–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना हुनेछ । उक्त दौड एक सय मिटरको हुने गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो ।
गाउँपालिकाले नारी दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्दैछ । त्यसमध्ये श्रीमान् बोकेर दौडिने प्रतियोगिता नयाँखाले कार्यक्रम हो । तनहुँ जिल्लामा यसभन्दा अगाडी केही वर्ष पहिला क्षेत्रीय होटल सङ्घ तनहुँले दमौलीमा श्रीमान्ले श्रीमती बोक्ने प्रतियोगिता आयोजना गरेको थियो ।
गाउँपालिकाले नारी दिवसका अवसरमा दिवा खाजा व्यवस्थापनका लागि विद्यालय र वाल विकास केन्द्रहरुलाई भाँडावर्तन वितरण, ढोरबाराही डेन्टल केयर सेन्टरको सहयोगमा महिला स्वस्थ दाँत प्रतियोगिता एवं दन्त शिविर समेत आयोजना गर्दैछ ।