फरार १३ प्रतिवादी पक्राउ, २१ वर्ष कैद भुक्तान बाँकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    फरार १३ प्रतिवादी पक्राउ, २१ वर्ष कैद भुक्तान बाँकी

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०७७, बुधबार

    तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका १३ प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्तव्यज्यान, हातहतियार, लेनदेन, सम्बन्धविच्छेद, नाता कायम, सवारी ज्यान लगायतका मुद्दाका प्रतिवादी छन् ।

    प्रहरीले कर्तव्यज्यान मुद्दामा विगत २७ वर्षदेखि फरार तनहुँको भानु नगरपालिका–१० का ५२ वर्षीय कुमार पन्थ भन्ने कुमारदेव पन्त, कर्तव्यज्यान मुद्दामै १५ वर्षदेखि फरार तनहुँको साविक ढोरफिर्दी गाविस ६ घर भई हाल रुपन्देहीको देवदह नगरपालिका बस्ने ६० वर्षीया ज्ञानुमाया नेपालीलाई पक्राउ गरेको छ । पन्तलाई जिल्ला अदालत तनहुँले विसं २०५५ असार ३ गतेको फैसलाले १५ महिना कैद सजाय तोकिएको थियो भने विकलाई सर्वोच्च अदालतले विसं २०६२ साउन ११ गते दश वर्ष कैद सजाय सुनाएको थियो । दुवैलाई निजहरुकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

    त्यस्तै प्रहरीले नाता कायम मुद्दामा फरार दुई, सम्बन्धविच्छेद मुद्दामा फरार चार, लेनदेन मुद्दामा फरार दुई, हातहतियार मुद्दामा फरार एक, सवारी ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका प्रतिवादीबाट २१ वर्ष ५ महिना कैद र रु दुई हजार एक सय ८० जरीवाना भुक्तान गर्न बाँकी रहेकाले तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।