सरकार परिवर्तन भएपनि आयोगको काम प्रभावित हुन्न : ज्ञवाली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सरकार परिवर्तन भएपनि आयोगको काम प्रभावित हुन्न : ज्ञवाली

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०७७, बिहीबार

    तनहुँ : भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमि सम्बन्धी समस्या समाधान गर्ने सम्पूर्ण जिम्मेवारी आयोगको रहेको बताउनुभएको छ । भूमि सम्बन्धि समस्या राष्ट्रको महत्वपूर्ण समस्या रहेकाले भविष्यमा पटक–पटक आयोग नबन्ने गरी वर्तमान आयोगले नै सबै समस्या समाधान गर्ने ज्ञवालीले दावी गर्नुभयो ।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहँुले भानु नगरपालिकामा बुधबार आयोजना गरेको आवासको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ज्ञवालीले भन्नुभयो, “विगतमा आयोग गठनमा त्रुटी भएका कारण अहिले सरकारले ऐन निर्माण गरी अधिकार सम्पन्न आयोग बनाएको छ । वर्तमान सरकार परिवर्तन भएपनि आयोग विघटन हुँदैन ।”

    भूमि र आवास सम्बन्धि अधिकार संविधानको मौलिक हकमा समेत समावेश भएकाले अब कोही पनि भूमिहिन भएर बस्न नपर्ने ज्ञवालीले प्रष्ट पार्नुभयो । वास्तविक
    भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई राज्यले निर्धारण गरेको जग्गा उपलब्ध गराउने भन्दै ज्ञवालीले भन्नुभयो, “कसैले ढाँटेर र छलेर जग्गा प्राप्त गर्न खोज्छ भने त्यसलाई कानुनी कारवाही गरिनेछ ।”

    भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले विगतमा धेरै आयोगहरु बनेपनि भूमि सम्बन्धि समस्या यथावत रहेकाले भविष्यमा यस्ता समस्याहरु नदोहोरिने गरी काम गर्नुपर्ने बताउनुभयो । भानु नगरपालिकामा भूमिहिन, सुकुम्बासी र अव्यवस्थितहरुको समस्या जटिल रहेकाले सबै जनप्रतिनिधि, कर्मचारी र नगरवासीहरुले यो समस्या समाधान गन भूमिका खेल्ने बताउनुभयो ।

    भूमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले अहिले
    स्थानीय तहमा लगत सङ्कलनको काम भईरहेको भन्दै वास्तविक भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले समयमै निर्धारित स्थानमा आफ्नो विवरण आयोगलाई उपलब्ध गराउन आग्रह गर्नुभयो ।

    भानु नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल पाण्डेले नगरपालिकामा भएको भूमिहिनहरुको समस्याको बारेमा जानकारी गराउनुभयो । नगरपालिकामा सुरक्षित आवास कार्यक्रम अन्तर्गत दुई सय ३१ घर निर्माण भएको, जनता आवास कार्यक्रम अन्तर्गत ३५ जना लाभग्राही छनौट भएको र त्यसमध्ये २८ जनाले तेस्रो किस्ता बापतको रकम लिएर आवास निर्माण गरिरहेको पाण्डेले जानकारी दिनुभयो ।