तनहुँ: महिला सशक्तीकरण सञ्चार समाज तनहुँले शुक्रबार आयोजना गरेको व्यास नगरस्तरीय महिला शिक्षक वक्तृत्वकला प्रतियोगितामा सत्यवती माध्यमिक विद्यालयकी कल्पना न्यौपाने प्रथम हुनुभएको छ । एक सय एघारौ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा “लैङ्गिक समानताका लागि महिला आवाज” शीर्षकमा आयोजित प्रतियोगितामा न्यौपाने प्रथम हुन सफल हुनुभएको हो ।
प्रतियोगितामा सत्यवतीकै सुनिता तिवारी द्वितीय र क्यामिन माविकी रुपा घिमिरे तृतीय हुनुभएको छ । प्रतियोगिताका विजयीलाई व्यास नगरपालिकाका उपप्रमुख मिरा जोशीले पुरस्कार वितरण गर्नुभयो । प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद रु पाँच हजार, रु चार हजार र रु तीन हजार साथै प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मी, आदिकवि भानुभक्त क्याम्पसका सहायक प्रमुख कल्पना लम्साल र डा. रामकुमार अधिकारीले निर्णायकको भूमिका निभाउनुभएको थियो ।
लैङ्गिक समानताका लागि अबको आवश्यकता के भन्ने विषयमा आवाज निकाली उक्त आवाजलाई नीति निर्मातादेखि कार्यान्वयन तहसम्म दिगो समानताको व्यवस्थापनको खोजी गर्ने उद्देश्यले कार्यक्रम गरिएको संस्थाकी अध्यक्ष प्रकृति खनाल न्यौपानेले जानकारी दिनुभयो । प्रतियोगितामा १५ जनाको सहभागिता थियो ।