तनहुँ : विश्व बैङ्कको सहयोगमा दिगो शहरी विकासलाई प्रवद्र्धन गर्न नेपाल शहरी शासकीय र पूर्वाधार आयोजनाले तनहुँको व्यास नगरपालिकासँग रु ७५ करोडको योजना सञ्चालनका लागि सम्झौता गरेको छ । शुक्रबार काठमाडौमा सम्पन्न कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
आयोजनामार्फत् प्राप्त भएका रकमले नगरपालिकाका ग्रामीण भेगका सडक विस्तार र सुधारमा खर्च गरिने व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार केशवटार कुलुङ छाब्दी हुँदै छिर्कने, घाँसीकुवा फराकचौर हुँदै कलेस्ती, पतेनीबाट चिन्तुटार मादीवेशी हुँदै शिशाघाट जोड्ने सडक विस्तार र सुधारमा उक्त रकम खर्च गरिनेछ । “शहरी क्षेत्र विकास प्रबद्र्धन गर्ने उद्देश्यले हामीले निकै पहिला नै यसका लागि प्रस्ताव गरेका थियौ, ढिलैभएपनि सम्झौता भएको छ,” नगरप्रमुख न्यौपानेले खबरपुञ्जसँग भन्नुभयो, “बस पनि सञ्चालन गर्न ग्रामीण भेगका सडक सुधारमा उक्त रकम परिचालन गर्छौ ।”
उक्त आयोजनाको अवधि पाँच वर्षको हुनेछ । उक्त बजेटमध्ये पाँच प्रतिशत लैङ्गिक समानता, मानवअधिकारका साथै विविध किसिमको सशक्तीकरणमा खर्च गरिने नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो ।