दोस्रो चरणमा खोप लगाउन ९४ खोप केन्द्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दोस्रो चरणमा खोप लगाउन ९४ खोप केन्द्र

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७७, शनिबार

    तनहुँ : आइतबारदेखि शुरु हुने कोभिड विरुद्धको दोस्रो चरणको खोप अभियानका लागि तनहुँमा ९४ वटा खोप केन्द्र निर्धारण गरिएको छ । ६५ वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिड विरुद्धको खोप लगाउनका जिल्लाका दश वटा स्थानीय तहमा ९४ वटा खोप केन्द्र निर्धारण गरिएको हो ।

    तनहुँमा दुई चरणमा खोप अभियान सञ्चालन हुँदैछ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले ८५ वडाका ५० खोपकेन्द्रमा पहिलो र ४४ खोप केन्द्रमा दोस्रो चरणमा खोप अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरण फागुन २३ गतेदेखि २७ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा सञ्चालन हुनेछ ।

    दोस्रो चरण फागुन २८ गतेदेखि चैत २ गतेसम्म शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा सञ्चालन हुने अधिकारीले जानकारी दिनुभयो । यस अवधिमा १५ हजार भन्दा बढी नागरिकलाई कोभिड विरुद्धको खोप लगाइँदैछ । तनहुँमा यस अगाडी स्वास्थ्यकर्मी, जनप्रतिनिधि, निजामति कर्मचारी, पत्रकार लगायत गरी पाँच हजार भन्दा बढीलाई खोप लगाइसकिएको छ ।

    कार्यालयका फोकल पर्सन एवं कोल्डचेन असिस्टेन्ट वीरेन्द्रकुमार चौधरीका अनुसार खोप अभियान सञ्चालनका लागि २ सय ६६ स्वास्थ्यकर्मी र ४ सय २५ स्वयंसेवक परिचालन हुनेछन् । उनीहरुलाई खोप अभियानबारे अभिमुखीकरण प्रदान गरिसकिएको छ । कोरोनाको जोखिम ६५ वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिलाई बढी रहेकाले यस पटक सो उमेर समूहका व्यक्तिहरुलाई खोप लगाउन लागिएको उहाँले जानकारी दिनुभयो ।

    खोप अभियानका क्रममा सबै पालिकामा एक जना चिकित्सक सहितको एईएफआई टिम परिचालन गरिएको छ । खोप लगाएर गम्भीर असर देखिएमा उक्त टिमले तत्कालै उपचारको प्रबन्ध मिलाउनेछ । खोप अभियान सञ्चालनका लागि जिल्लामा प्रमुख जिल्ला अधिकारी, पालिकामा प्रमुख÷अध्यक्ष र वडामा वडाध्यक्षको संयोजकत्वमा खोप समन्वय समिति गठन गरिसकिएको छ ।