तनहुँ : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले कम्युनिष्टले देश र जनताका लागि काम गर्दैनन् भन्ने पुष्टि भएको आरोप लगाउनुभएको छ । नेपाल राष्ट्रिय मगर सङ्घ तनहुँको शनिबार दमौलीमा आयोजित दोस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्वमन्त्री भण्डारीले पाँच वर्षका लागि सरकार चलाउने म्याण्डेट पाएको कम्युनिष्ट पार्टीले नौटङ्की प्रदर्शन गरेको बताउनुभयो ।
“पाँच वर्ष सरकार चलाउन जनताले कम्युनिष्ट पार्टीलाई करिब दुई तिहाई मत दिएका थिए, तर आज आएर आपसमै झगडा गरेर मतको दुरुपयोग भएको छ,” भण्डारीले भन्नुभयो । भण्डारीले गत निर्वाचनमा तनहुँमा काङ्ग्रेस नेतृत्व पराजित हुँदा समग्र तनहुँ जिल्ला नै पराजित भएको महशुस हुन थालेको भण्डारीले बताउनुभयो । जिल्लामा विकास निर्माणको कामले गति लिन नसकेको बताउनुभयो ।
तनहुँ हाइड्रोमा एकलौटी कर्मचारी भर्ना गरेको आरोप
पूर्वमन्त्री भण्डारीले तनहुँ जलविद्युत आयोजना काङ्ग्रेसको पहलमा आएको दावी गर्दै अहिले सत्तारुढ पार्टीका नेता कार्यकर्ताले हाइड्रोमा एकलौटी कर्मचारी भर्ना गरेको आरोप लगाउनुभयो । काङ्ग्रेसले ल्याएको परियोजनामा काङ्ग्रेसलाई बाइपास गर्न खोजिए राम्रो नहुने भण्डारीले चेतावनी दिनुभयो ।
“आयोजनाबाट प्रभावित व्यास, म्याग्दे, ऋषिङको पालिका काङ्ग्रेसले जितेको छ, तर त्यहाँका जनप्रतिनिधि के हेरेर बसिरहनुभएको छ ?,” भण्डारीले भन्नुभयो, “हामीले के गर्नप¥यो भन्ने भन्नुस्, कसले टेर्दैन ? हाकिमले टेर्दैन ? त्यसो भए अर्को हाकिम आउँछ, त्यो हैसियत हामी राख्छौ ।”