प्रतिनिधिसभा बैठक शुरु हुँदै, के होला आज ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रतिनिधिसभा बैठक शुरु हुँदै, के होला आज ?

    खबरपुञ्ज संवाददाता

    २३ फाल्गुन २०७७, आईतवार

    काठमाडौ: प्रतिनिधि सभाको हिउँदे ‘अधिवेशन’ आज, फागुन २३ गते, शुरू हुँदैछ । विघटन नभएको भए ढिलोमा गत पुस १८ गते नै संघीय संसदको अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको बैठक पनि शुरू हुने थियो ।

    गत पुस ५ गते विघटित प्रतिनिधिसभा यही फागुन ११ गते सर्वोच्च अदालतबाट पुनर्स्थापित भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान भएको थियो । सर्वोच्च अदालतको संवैधानिक इजलाशले फैसलाको १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश जारी गरेको थियो ।

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित भएको अवस्थामा हुन लागेको प्रतिनिधि सभाको बैठकलाई निकै चासोका साथ हेरिएको छ ।

    आज अपराह्न ४ बजे प्रतिनिधि सभा बैठक शुरू हुनेछ । संसदको हिउँदे अधिवेशन विधेयक अधिवेशनका रूपमा मानिन्छ । यसपटक भने नेपालको संविधान बनेपछि पहिलोपटक सरकारमाथि अविश्वासको प्रस्ताव दर्ता हुने वा सरकारले विश्वासको मत लिनुपर्ने अवस्थामा अधिवेशन शुरू हुन लागेको छ ।

    सत्तारुढ नेकपाको एक खेमामा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष छन् । अर्को खेमामा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष छन् । प्रचण्ड—माधव खेमाले ओलीलाई अध्यक्ष र पार्टीको साधारण सदस्यता समेतबाट कारबाही गरेको भनेको छ । ओली खेमाले भने द्वितीय अध्यक्षमा प्रचण्डलाई कायमै राखेको छ ।

    प्रचण्ड—माधव खेमाले पार्टीको आधिकारिकताका लागि निर्र्वाचन आयोगमा निवेदन दिएको भए पनि आयोगले ठोस निर्णय गरेको छैन ।

    दुवै पक्षले आ-आफ्नो संसदीय दलको बैठक राखेका छन् । शुक्रबार भएको प्रचण्ड—माधव खेमाको संसदीय दलको बैठकमा ११५ जना सदस्य सहभागी रहेको जनाइएको थियो । बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो ।(खबरहबबाट)