तनहुँ : तनहुँमा आइतबारदेखि ज्येष्ठ नागरिकलाई कोभिड विरुद्धको खोप लगाउन शुरु भएको छ । पहिलो चरणमा आइतबारदेखि फागुन २७ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा खोप अभियान शुरु भएको छ ।
६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्बन्धित पालिकाको वडामा रहेको स्वास्थ्य केन्द्रबाट खोप लगाइँदैछ । त्यसका लागि जिल्ला स्वास्थ्य कार्यालय तनहुँले सम्बन्धित पालिकामा खोप पु¥याइसकेको छ । कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले सम्बन्धित पालिकाको व्यवस्थापनमा खोप अभियान सञ्चालन हुने जानकारी दिनुभयो ।
खोप अभियानका लागि जिल्लामा ९४ वटा खोप केन्द्र निर्धारण गरिएको छ । दोस्रो चरण फागुन २८ गतेदेखि चैत २ गतेसम्म शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा सञ्चालन हुनेछ । यस अवधिमा १५ हजार भन्दा बढी नागरिकलाई कोभिड विरुद्धको खोप लगाइँदैछ ।
खोप अभियान सञ्चालनका लागि २ सय ६६ स्वास्थ्यकर्मी र ४ सय २५ स्वयंसेवक परिचालन गरिएको छ । खोप अभियानका लागि सबै पालिकामा एक जना चिकित्सक सहितको एईएफआई टिम गठन गरिएको छ ।