तनहुँ : एक सय एघारौ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सोमबार हुने महिला हाफ म्याराथनका लागि ५६ जनाले नाम दर्ता गराएका छन् । तनहुँको व्यास नगरपालिकाले आयोजना गर्न लागेको व्यासगुफादेखि तनहुँसुरसम्मको २१ किमि म्याराथनमा आइतबार साँझसम्म ५६ जनाले नाम दर्ता गराएका हुन् ।
तीमध्ये १२ जना बाहिरी जिल्लाका धावक रहेको व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
हाफ म्याराथन व्यास गुफादेखि सफासडक हुँदै ट्राफिक चोक, भोर्लेटार चोक, पृथ्वी राजमार्गको तालघरे, मुसेखोला, घाँसीकुवा, पराशर मार्गको सेरा, वेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गंगलथोक, पत्यारथोक,चण्डीथान,गद्दीचौतारा हुदै व्यास नगरपालिका वडा नं ११ स्थित ऐतिहासिक तनहुँसुर दरवारमा पुगेर टुङ्गिनेछ ।
व्यास नगर अल्ट्रा म्याराथनको सफलताका कारण साहसिक पर्यटकीय खेलको रुपमा रहेको दौड प्रतियोगितामा महिला सहभागिताको महत्वलाई महशुस गरी महिला म्याराथन आयोजना गरिएको नगरपालिकाले जनाएको छ । खुल्ला हाफ म्याराथनमा प्रथम हुनेलाई रु ४१ हजार ७७, द्वितीय हुनेलाई रु ३१ हजार ७७, तृतीय हुनेलाई रु २१ हजार ७७ र सान्त्वना हुने पाँच जनालाई रु ११ हजार ७७ प्रदान गरिनेछ ।
म्याराथन रुटमा खेलाडीबाट नियमसम्मत रुपमा दौड सम्पन्न गर्नका लागि विभिन्न पाँच स्थानमा चेकपोइन्टको व्यवस्था गरिएको छ । चेकपोइन्टमा धावकहरुले दौडको नियम पालना गरे नगरेको निरीक्षण गरिनेछ भने धावकका लागि पानि, चकलेट साथसाथै स्वास्थ्यसँग सम्बन्धित आवश्यक सम्पूर्ण सामग्रीहरु सम्बन्धित वडाहरुमा टोल विकास संस्थाहरुको सहभागितामा राखिने छ । व्यास नगरपालिकाले मानुङकोटदेखि पुलिमराङसम्म ४४ किमि दूरीको अल्ट्रा म्याराथन प्रतियोगिता हरेक वर्ष सहिद दिवसको दिन गर्दै आइरहेको छ ।