नागरिक स्तरबाटै क्रियापुत्री भवन सञ्चालन गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नागरिक स्तरबाटै क्रियापुत्री भवन सञ्चालन गरिने

    खबरपुञ्ज संवाददाता

    २३ फाल्गुन २०७७, आईतवार

    तनहुँ : दाताको सहयोगमा निर्माण सम्पन्न भएको किरियापुत्री भवनको सञ्चालन नागरिक स्तरबाट सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार सम्पन्न कार्यपालिकाको बैठकले किरियापुत्री भवन सञ्चालन सम्बन्धी कार्यविधि २०७७ खारेज गरी उक्त भवन सञ्चालन गर्न नागरिक स्तरबाटै समिति बनाउने निर्णय गरेको हो ।

    बैठकले व्यास नगरपालिका–२, ३ र ४ का वडाध्यक्षहरुको परामर्शमा सात जनाको समिति गठन गर्ने गरी व्यास नगरपालिका–३ निवासी भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई संयोजनको जिम्मेवारी दिएको छ ।

    व्यास नगरपालिका–३ व्यास गुफा परिसरमा रु ९८ लाखको लागतमा आवासीय किरियापुत्री भवन निर्माण भएको छ । किरियापुत्री भवन निर्माणका लागि व्यास नगरपालिकाले रु ३६ लाख ७६ हजार ७ सय ९७, व्यास नगरपालिका–३ वडा कार्यालयले रु २ लाख ६० हजार सहयोग गरेको थियो । बाँकी रकम देश तथा विदेशबाट सङ्कलन भएको थियो ।

    शहरिया साँघुरो र घना बसाई व्यवस्थायुक्त रहनसहनमा काजकिरिया कर्म पारम्पारिक ढङ्गले सम्पन्न गर्न कठिनाई भएको महशुस गरि आवासीय भवन निर्माण गरिएको थियो । दुई हजार नौ सय वर्गफिट क्षेत्रफलमा फैलिएको भवनमा कुरुवाहरु बस्ने कक्ष बाहेक ८ कोठा रहेको छ ।

    बैठकमा अन्य के के निर्णय भए ?

    व्यास नगरपालिकाले सम्पन्न गरेको भूमिहिन र अव्यवस्थित बसोबासीहरुको तथ्याङ्कको छानबिन गरी प्रमाणीकरण गर्ने प्रकृया सम्बन्धमा भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीसँग अन्तरक्रिया गर्ने र प्रकृया अगाडी बढाउने निर्णय गरेको छ । नगरपालिकाले भूमिहिन दलित सात सय २०, भूमिहीन सुकुम्बासी चार सय ७८, अव्यवस्थित बसोबासी ६ हजार एक सय ३३ गरी कूल ६ हजार आठ सय ५३ को विवरण सङ्कलन गरेको थियो ।

    विपद् सम्बन्धमा व्यास नगरपालिकाभित्रका बाढीबाट बिग्रिएका कुलो, बाँध, खेतहरुको पुर्नस्थापना सम्बन्धी समितिबाट भए गरेका कार्यहरुको विवरण प्रस्तुत भई अनुमोदन गरिएको छ । साथै घर निर्माण गर्नुपर्ने बाढी पीडितहरुको तथ्याङ्कलाई पुनः वडागत रुपमा पुनःमूल्याङ्कन गर्दै प्रमाणीकरण गरि राहत वितरणको प्रकृया अघि बढाउने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

    स्थापना दिवस चैत ३० गते

    व्यास नगरपालिकाले चैत ३० गते स्थापना दिवस मनाउने भएको छ । उक्त दिवसको अवसरमा पूर्व जनप्रतिनिधि, वर्तमान जनप्रतिनिधि समेत नगरवासीको सहभागितामा हालसम्म भए गरेका कार्यको समिक्षा गर्दै आगामी कार्ययोजनाका विषयमा छलफल गरिने भएको छ ।

    नगरपालिकाले नयाँ वर्ष २०७८ को अवसरमा वैशाख १ र २ गते सफासडक, मालपोत लाइन, उद्योग वाणिज्य सङ्घ, अनसन चौतारी लगायतका क्षेत्रका सरोकारवालाको पहलमा सडक महोत्सव गर्ने निर्णय गरेको छ ।

    बैठकले व्यास नगरपालिका–१० स्थित वैरेनी क्षेत्रमा जग्गा विकास आयोजनालाई व्यास नगर विकास समितिको सिफारिस अनुसार नगरपालिकाकै तर्फबाट सञ्चालन स्वीकृतीका लागि नेपाल सरकारमा अनुरोध गर्ने निर्णय गरेको छ । साथै जग्गा सम्याउने कार्यमा व्यवस्थित गर्न आवश्यक देखिएकाले कृषि व्यवसाय सम्बन्धी उद्देश्य र अन्य उद्देश्य समेत एकीन गराई निश्चित दस्तुर लिई वातावरणीय असर नपर्ने गरी नियमनका साथ जग्गा सम्याउने अनुमति प्रदान गर्ने सम्बन्धी कार्यविधि पारित गरिएको छ ।