तनहुँ : दोस्रो चरणको खोप अभियान अन्तर्गत तनहुँमा आइतबार दुई हजार दुई सय ३२ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकाका दुई हजार दुई सय ३२ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
कार्यालयका अनुसार व्यास नगरपालिकाका सात सय ८५, भानु नगरपालिकाका सात सय ४५, देवघाट गाउँपालिकाका दुई सय ८१, आँबुखैरेनी गाउँपालिकाका दुई सय ३८ र बन्दीपुर गाउँपालिकाका एक सय ८३ जनाले खोप लगाएका छन् ।
तनहुँमा दुई चरणमा खोप अभियान सञ्चालन हुँदैछ । ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्बन्धित पालिकाको वडामा रहेको स्वास्थ्य केन्द्रबाट खोप लगाइँदैछ । खोप अभियानका लागि जिल्लामा ९४ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।
दोस्रो चरण फागुन २८ गतेदेखि चैत २ गतेसम्म शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा सञ्चालन हुनेछ । यस अवधिमा १५ हजार भन्दा बढी नागरिकलाई कोभिड विरुद्धको खोप लगाइँदैछ ।
खोप अभियान सञ्चालनका लागि २ सय ६६ स्वास्थ्यकर्मी र ४ सय २५ स्वयंसेवक परिचालन गरिएको छ । खोप अभियानका लागि सबै पालिकामा एक जना चिकित्सक सहितको एईएफआई टिम गठन गरिएको छ ।