महिलाले अझै समान अधिकार पाएका छैनन् : पूर्वमन्त्री कोइराला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    महिलाले अझै समान अधिकार पाएका छैनन् : पूर्वमन्त्री कोइराला

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०७७, सोमबार

    तनहुँ : पूर्वमन्त्री आशा कोइरालाले महिलाले अझैपनि समान अधिकार नपाएको बताउनुभएको छ । एक सय एघारौ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा व्यास नगरपालिकाले सोमबार आयोजना गरेको प्रथम व्यास नगर महिला हाफ म्याराथनको उद्घाटन गर्दै पूर्वमन्त्री कोइरालाले संविधानले महिलालाई असीमित अधिकार दिएपनि कार्यान्वयन नभएको उल्लेख गर्नुभयो ।

    “समान अवसर हामी आफैलाई आउँदैन त्यो अवसर हामीले लिनुपर्छ । त्यो अवसर लिनका लागि हामीभित्र भएको सीप र दक्षताले सफलता मिल्छ,” कोइरालाले भन्नुभयो । हरेक चुनौतिसँग लडेर महिलाले सफलता प्राप्त गर्न सक्ने कोइरालाको भनाई थियो ।

    अदालतप्रति असन्तुष्ट

    पूर्वमन्त्री कोइरालाले नेकपाको विवाद सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति असन्तुष्ट व्यक्त गर्नुभयो। “आज राष्ट्र अस्थिरतातर्फ गइरहेको छ, इतिहासले हामीलाई के जिम्मेवारी दिएको छ त्यतातर्फ सचेत हुन आवश्यक छ,” उहॉले भन्नुभयो।

    सङ्घर्ष गरेर प्राप्त भएका उपलब्धिलाई संस्थागत गरेर अगाडी बढ्न राजनीतिक दलका नेताहरुलाई कोइरालाले आग्रह गर्नुभयो । शान्ति र स्थिरताका लागि न्यायालयले जुन भूमिका खेल्नुपर्ने हो त्यसतर्फ अदालत चुकेको हो की भन्ने आभाष भएको कोइरालाको भनाई थियो। “जसले जति अधिकार प्राप्त गरेको छ त्यसले त्यति अधिकार प्रयोग गर्नुपर्छ,” उहॉले भन्नुभयो।

    व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले खेलकूदको माध्यमबाट पर्यटनको प्रबर्धनका लागि म्याराथन आयोजना गरिएको जानकारी दिनुभयो ।

    उपप्रमुख मीरा जोशीले व्यासगुफा र तनहुँसुरलाई जोड्न दौड आयोजना गरिएको बताउनुभयो ।व्यास–३ देखि व्यास–११ तनहुँसुरसम्म २१ किमि दूरी दौडमा ५६ महिला धावकको सहभागिता छ । प्रतियोगितामा प्रथम हुनेलाई रु ४१ हजार ७७, द्वितीय हुनेलाई रु ३१ हजार ७७, तृतीय हुनेलाई रु २१ हजार ७७ र सान्त्वना हुने पाँच जनालाई रु ११ हजार ७७ पुरस्कार प्रदान गरिनेछ ।