तनहुँ : एक सय एघारौ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सोमबार आयोजित प्रथम व्यास नगर महिला खुल्ला हाफ म्याराथनको उपाधि धादिङकी रसिला तामाङले जित्नुभएको छ । व्यास नगरपालिका–३ व्यासगुफादेखि व्यास नगरपालिका–११ तनहुँसुरसम्मको २१ किमि दूरी एक घण्टा ४९ मिनेटमा पार गर्दै तामाङले उपाधि जित्नुभएको हो ।
प्रतियोगितामा खोटाङका प्रिया राई द्वितीय हुनुभएको छ । उहाँले उक्त दूरी एक घण्टा ४९ मिनेट एक सेकण्डमा पूरा गर्नुभयो । पोखराका अनिता राई एक घण्टा ५५ मिनेट ३२ सेकेण्डमा उक्त दूरी पार गर्दै तृतीय हुनुभएको छ । त्यस्तै कालिकोटका विशेषता ऐडी, तनहुँ व्यासका नम्रता गुरुङ, तनहुँ ऋषिङका सीता रानाभाट, भक्तपुरका आयुषा श्रेष्ठ र ओखलढुङ्गाका पदकुमारी सुनुवार सान्त्वना हुनुभएको छ । उहाँहरुले उक्त दूरी क्रमशः एक घण्टा ५५ मिनेट ५७ सेकेण्ड, एक घण्टा ५८ मिनेट ४५ सेकेण्ड, दुई घण्टा ३५ सेकेण्ड, दुई घण्टा तीन मिनेट १९ सेकेण्ड र दुई घण्टा आठ मिनेट २८ सेकेण्डमा पार गर्नुभयो ।
प्रतियोगितामा ५६ जना महिला धावकको सहभागिता थियो । त्यसमध्ये १२ जना बाहिरी जिल्लाका हुन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेलाई क्रमशः रु ४१ हजार ७७, ३१ हजार ७७, २१ हजार ७७ र सान्त्वना हुने पाँच जनालाई रु ११ हजार ७७ पुरस्कार प्रदान गरिएको छ । प्रतियोगिताका विजयीलाई गण्डकी प्रदेश सांसद सरिता गुरुङ, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले पुरस्कार प्रदान गर्नुभयो र
हाफ म्याराथन व्यास गुफादेखि सफासडक हुँदै ट्राफिक चोक, भोर्लेटार चोक, पृथ्वी राजमार्गको तालघरे, मुसेखोला, घाँसीकुवा, पराशर मार्गको सेरा, वेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गंगलथोक, पत्यारथोक,चण्डीथान,गद्दीचौतारा हुदै व्यास नगरपालिका वडा नं ११ स्थित ऐतिहासिक तनहुँसुर दरवारमा पुगेर टुङ्गिएको थियो ।
म्याराथनको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालाले खेल क्षेत्रले खेलाडीलाई जीवनयापन गर्न सक्ने बनाएको बताउनुभयो । खेल क्षेत्रले मानिसलाई स्वस्थ बनाउन सहयोग पु¥याउनुका साथै अन्तर्राष्ट्रिय स्तरसम्म परिचित समेत गराएको बताउनुभयो । “खेलकै कारण नेपाल विश्वमाझ चिनिन सफल भएको छ, खेलाडीलाई पनि आत्मसम्मानका साथ बाँच्ने अवस्था सिर्जना गरेको छ,” गण्डकी प्रदेशसभा सदस्य समेत रहनुभएका कोइरालाले भन्नुभयो ।
पूर्वमन्त्री कोइरालाले संविधानले महिलालाई धेरै अधिकार दिएपनि अझै कार्यान्वयन हुन नसकेको चर्चा गर्नुभयो । महिलाले अझै पनि समान अधिकार नपाएको उल्लेख गर्नुहुँदै उहाँले महिलालाई सहयोग गर्ने काममा पुरुषको सहयोग नरहेको गुनासो गर्नुभयो ।
व्यास नगर अल्ट्रा म्याराथनको सफलताका कारण साहसिक पर्यटकीय खेलको रुपमा रहेको दौड प्रतियोगितामा महिला सहभागिताको महत्वलाई महशुस गरी महिला म्याराथन आयोजना गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो ।
म्याराथन रुटमा खेलाडीबाट नियमसम्मत रुपमा दौड सम्पन्न गर्नका लागि विभिन्न पाँच स्थानमा चेकपोइन्टको व्यवस्था गरिएको थियो । व्यास नगरपालिकाले मानुङकोटदेखि पुलिमराङसम्म ४४ किमि दूरीको अल्ट्रा म्याराथन प्रतियोगिता हरेक वर्ष सहिद दिवसको दिन गर्दै आइरहेको छ ।