युवा सिर्जनशील भएमात्रै समृद्ध मुलुक बन्छ : नेता पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    युवा सिर्जनशील भएमात्रै समृद्ध मुलुक बन्छ : नेता पौडेल

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०७७, सोमबार

    तनहुँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले युवा सिर्जनशील भएमात्रै मुलुक समृद्ध बन्न सक्ने बताउनुभएको छ । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित आदर्श नमूना क्लवको आयोजनामा सोमबारदेखि शुरु नवौ आदर्श तथा चौथो तारा स्मृति कपको उदघाटन गर्दै नेता पौडेलले विकृति, विसंगतिको अन्त्य गर्दै युवा सिर्जनशील हुनुपर्नेमा जोड दिनुभयो ।

    नेता पौडेलले भन्नुभयो, “समाजमा धेरै प्रकारका युवा छन्, कुलतमा फसेका युवालाई सुधार्ने जिम्मा पनि युवाकै हो ।” नेता पौडेलले फुटबलले लोकतन्त्र सिकाउने धारणा व्यक्त गर्नुभयो । “खेलकुद र निर्वाचन एउटै हो, खेलकुदमा जसले धेरै गोल गर्छ त्यो टिमले जित्छ । त्यस्तै निर्वाचनमा पनि जसले बढी मत ल्याउँछ उसैले जित्छ,” पौडेलले भन्नुभयो । पौडेलले फुटबलमा विधिको प्रतिस्पर्धा हुने र त्यही प्रतिस्पर्धा राजनीतिमा पनि आवश्यक रहेको बताउनुभयो ।

    वर्तमान राजनीति तरल अवस्थामा पुगेको बताउँदै पौडेलले कांग्रेस जिम्मेवार रुपमा प्रस्तुत भएर वर्तमान राजनीतिलाई सही ट्रयाकमा ल्याउन भूमिका खेल्ने बताउनुभयो ।

    क्लवका अध्यक्ष गौरवराज रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य मोहन गिरी, व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठ, नेविसंघका अध्यक्ष चुडामणि खनाल लगायतले खेलकुदले खेलाडीको विकासका साथै समाजलाई पनि जोड्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

    सो अवसरमा क्लवका उपाध्यक्ष मलिन मल्लले क्लवले गर्दै आएको कामका विषयमा प्रकाश पार्नुभयो।

    प्रतियोगितामा २६ टिमको सहभागिता छ। प्रतियोगिताका विजेताले नगद रु एक लाख एक र उपविजेताले नगद रु ५० हजार एक प्राप्त गर्नेछ ।