१०८ फिटको व्यासमूर्ति निर्माणका लागि टेण्डर आह्वान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    १०८ फिटको व्यासमूर्ति निर्माणका लागि टेण्डर आह्वान

    खबरपुञ्ज संवाददाता

    २५ फाल्गुन २०७७, मंगलवार

    तनहुँ : व्यासको जन्मभूमि दमौलीमा १०८ फिटको व्यासमूर्ति निर्माणका लागि व्यास नगरपालिकाले टेण्डर आह्वान गरेकाे छ । व्यासभूमिलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्य सहित व्यासमूर्ति निर्माणका लागि नगरपालिकाले मङ्गलबार आह्वान गरेकाे हाे ।

    गुरुयोजना अनुसारको रु आठ करोड १४ लाख पाँच हजार ८१ को टेण्डर प्रकाशन गरिएकाे प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयाे । टेण्डरकाे म्याद एक महिनाकाे छ ।

    मूर्ति निर्माणका लागि व्यास नगरपालिकाको प्रस्तावमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साझेदारी गर्ने भएको छ । त्यसका लागि मन्त्रालयले रु चार करोड ५५ लाख र नगरपालिकाले रु दुई करोड ४५ लाख साझेदारी गर्नेछन् ।

    व्यास क्षेत्र शिवपञ्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले नगरपालिकाको तर्फबाट टेण्डर प्रकाशन भएपछि मूर्ति निर्माणको कामले गति लिने बताउनुभयो । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयमार्फत् पनि कोषलाई चालु आर्थिक वर्षमा रु ३० लाख बजेट प्राप्त भएको छ । उक्त रकमबाट पूर्वतर्फको प्रवेशद्वार र देउरालीनगरतर्फबाट आउने बाटो निर्माणको काम गरिनेछ । मन्त्रालयबाटै गत वर्ष प्राप्त रु दश लाखको लागतमा मुख्यप्रवेशद्वारको केही काम गरिएको छ ।

    गुरुयोजना अनुसार सबै संरचना निर्माणका लागि रु ६४ करोड बजेट आवश्यक पर्दछ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९ सय ९३ लाग्ने अनुमान गरिएको छ भने अन्य संरचना निर्माणका लागि रु २८ करोड ६८ लाख २८ हजार २ सय १७ लाग्ने अनुमान रहेको छ ।

    व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ सालदेखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करीब रु ७० लाख सङ्कलन भएको थियो । उक्त रकममध्ये रु १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ ।

    निर्माण शुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको र पहिलो वर्ष मात्रै रु ७ करोड खर्च हुने अनुमान छ । व्यासको मूर्ति अड्याउनका लागि तीन तल्लाको पेडेस्टल (स्तम्भ) निर्माण गरिनेछ । पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै डेढ वर्ष लाग्ने अनुमान गरिएको छ । व्यासमूर्ति निर्माणका ३० हजार किलो तामा आवश्यक पर्ने अनुमान छ । पेडेस्टल (स्तम्भ) भित्र सङ्ग्रहालय, पुस्तकालय हल प्रस्ताव गरिएको छ ।

    गुरुयोजना अनुसार व्यासको मूर्तिका अलवा प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, गार्ड घर, कोशेली घर, विक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, सङ्ग्रहालय, वृत्तचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैंचाको साथ विश्राम घर, तलाउ सहितको मत्स्यगन्धा पार्क, चमेनागृह, पूजारी घर, २७ वटा साना व्यासका मूर्तिहरु, व्यासका अनुयायीहरुको पाँच साना प्रतिमाहरु र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ । यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्दछ ।