दुलेगाैडा : महाशिवरात्री तथा सेना दिवसको अवसरमा तनहुँको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीले बुधबार आयोजना गरेको पाँच किलोमिटर दौडको उपाधि तनहुँ शुक्लागण्डकीका सुगम गुरुङ र कालीकोटकी विशेषता ऐरीले जित्नुभएको छ ।
पुरुषतर्फ गुरुङले १९ मिनेट ३४ सेकेण्डमा दूरी पार गर्दै उपाधि जित्नुभएको हो । महिलातर्फ ऐरीले २३ मिनेट ३० सेकेण्डमा दुरी पार गर्नुभयो । दुवैले जनही नगद रु १५ हजारको साथमा प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
पुरुषतर्फ मोरङका राम थापा १९ मिनेट ४१ सेकेण्डमा दूरी पार गर्दै दोस्रो हुनुभयो । बाग्लुङका सुनिल केसी २० मिनेट ६ सेकेण्डमा दूरी पार गर्दै तेस्रो हुनुभएको छ । दोस्रो र तेस्रोले क्रमश ः रु दश हजार, रु पाँच हजार सहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
महिलातर्फ २४ मिनेट ४२ सेकेण्डमा दूरी पार गर्नुभएकी गुल्मीकी निर्मला थापा दोस्रो हुँदा दुई सेकेण्डले पछाडी पर्नुभएकी तनहुँ थर्पुकी वर्षा श्रेष्ठले तेस्रो स्थान हासिल गर्नुभयो । उहाँहरुले क्रमश ः रु दश हजार र रु पाँच हजार सहित प्रमाणपत्र प्राप्त गर्नुभयो । प्रतियोगितामा चार सय भन्दा बढी धावकको सहभागिता थियो ।
विजयी धावकलाई शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्य, श्री नम्बर ३ बाहिनीका बाहिनीपति सहायकरथी कुमारबाबु थापाले पुरस्कार वितरण गर्नुभयो ।
कार्यक्रममा नगरप्रमुख गुरुङले नेपाली सेना र सर्वसाधारणबीचको सामिप्यता प्रगाढ बनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी आचार्यले नेपाली सेना जनतासँग भिज्दैन भन्ने आलोचनाबाट मुक्त हुन दौड सहयोगी बन्ने बताउनुभयो ।
बाहिनीपति थापाले दिवसको अवसरमा नागरिकसँग प्रत्यक्ष जोडिने कार्यक्रम गरिएको बताउनुभयो । सेना दिवसको अवसरमा श्री नम्बर ३ बाहिनीले खैरेनीटारका व्यवसायीसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको थियो । यस्तै सेनाले यहाँका प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरवाराही मन्दिर, प्रकृति देवी मनकामना मन्दिरमा सरसफाई समेत गरेको छ ।